ओखरबोटका शिक्षक तुलप्रसाद पुन (नयन बाबु)को मौलिक शिरफुले भाका ‘रेलिमै’को म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका हाल अमरज्योति माविमा अध्यापनरत तुलप्रसाद पुन (नयन बाबु)को प्रस्तुतिमा मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका रेलिमैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । मौलिक कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार बिहान गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाईलीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्माता पुन र  गायक रसाईलीकै शब्द तथा लय रहेको गीतमा स्वयं गायक रसाईली सहित कृष्ण परियार, गीता पाईजा, सुमन थापा र अमृता लामिछानेले स्वर भर्नुभएको छ । मालिका गाउँपालिकाको वडा नम्बर ४ पर्यटकीय स्थल सोले डाँडा ,ओखरबोट लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडिओको निर्देशन समेत गायक रसाइलिको रहेको छ । म्युजिक भिडिओमा स्वयं गायक रसाइली ,निर्माणकर्ता पुन , कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी , करुणा बुढा लगायतको अभिनय रहेको छ।

भिडिओ हेर्नुहोस्…

कलाकारहरुलाई मौलिक मगर पोशाक तथा सांस्कृतिक गहनाले सजिएका देख्न सकिन्छ । पछिल्लो समय ओझेलमा पर्दै गएको पुरानो मौलिक भाका र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्धेश्यले शिरफुले भाका ‘रेलिमै’ निर्माण गरिएको तुलप्रसाद पुनले बताउनुभयो । म्युजिक भिडिओमा गाउँको इतिहास ,संस्कृति र प्राकृतिक सम्पदा सौन्दर्य समेटिएको उहाँले बताउनुभयो ।

शिक्षक समेत रहनुभएका निर्माणकर्ता पुनले मुख्य भुमिकामा रहेर मगर समुदायको मौलिक पुख्र्यौली सोरठी नाचको संरक्षण र प्रवद्र्धनमा निरन्तर लाग्नुभएको छ । ‘मौलिकता र संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन्। आफनो भाषा, कला, परम्परा, भेषभूषा र संस्कार जस्ता अमूल्य सम्पत्तिको संरक्षण तथा प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो। हाम्रो मौलिकता र संस्कृतिको जगेर्ना संरक्षण गर्दै सिरफुली रेलीमै गीत अडियो भिडियो तपाईहरु माझ प्रस्तुत गर्दै गर्दा एकदमै खुशी लागेको छ ,’ सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै पुनले भन्नुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार