म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु

  धनिलाल गर्बुजा

म्याग्दी, २ असार । म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ पदयात्रा (ट्रेकिङ) मार्गको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि पाँच सदस्यीय टोली प्रस्थान गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहल तथा नेपाल सरकारको पर्यटन विभागको सहयोगमा टोली मुदी गाउँबाट गुर्जा गाउँतर्फ प्रस्थान गरेको हो ।

टोलीले गुर्जा गाउँपछि बगर हुँदै धवलागिरि बेसक्याम्प र मुस्ताङको टुकुचे गाउँसम्म पुगेर सम्भावित पदयात्रा मार्गको विस्तृत सर्वेक्षण गर्ने जनाएको छ । यस अध्ययनले म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रलाई नयाँ पर्यटन गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

मन्त्री महावीर पुनले नेपालको अर्थतन्त्र सुदृढ बनाउन पर्यटन क्षेत्रको अधिकतम विकास अपरिहार्य रहेको बताउनुभएको छ । अमेरिका बसाइपछि स्वदेश फर्केर पनि आफू पर्यटन प्रवर्द्धनका विभिन्न अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले पर्यटन पूर्वाधार निर्माण तथा नयाँ गन्तव्यको विकासमा विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो ।

सांसद तथा मन्त्री बनेपछि पनि पर्यटन विकासको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पुनले यस्ता विषयलाई राजनीतिकरण नगरी राष्ट्रिय हितका दृष्टिले हेर्न सबैसँग आग्रह गर्नुभएको छ ।

नयाँ ट्रेकिङ मार्ग सञ्चालनमा आएमा म्याग्दी र मुस्ताङका दुर्गम बस्तीहरू पर्यटन गतिविधिसँग जोडिने, स्थानीय रोजगारी सिर्जना हुने तथा क्षेत्रीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार