म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेतलाई स्रोत अनुमान गरी ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँ बराबरको बजेट पारित गरिएको हो । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा प्रस्तुत गर्नुभएको बजेट छलफल पछि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी आर्थिक बर्षको बजेट पारित गर्ने रघुगंगा गाउँपालिका नेपालमै पहिलो स्थानीय तह बनेको छ ।

रघुगंगाले चालुतर्फ ३८ करोड २ लाख २० हजार ७ सय र पुँजीगत तर्फ १८ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पारित गरेको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ३१ लाख रुपैयाँ , सशर्त अनुदानतर्फ २२ करोड ७४ लाख रुपैयाँ ,विशेष अनुदानतर्फ १ करोड ५० लाख, समपुरक अनुदानतर्फ ७० लाख गरी ३४ करोड ३५ लाख रुपैयाँ बजेट प्राप्त हुने अनुमान गरिएको छ ।त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १ लाख ७ हजार, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ , विशेष अनुदानतर्फ ३९ लाख ९८ हजार रुपैयाँ समावेश गरिएको छ । बजेटमा संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १० करोड ६२ लाख ७७ हजार रुपैयाँ , प्रदेश राजश्व वाँडफाँडबाट १ करोड ५ लाख ३३ हजार, आन्तरिक आम्दानीतर्फको राजश्व १ करोड ५ लाख रुपैयाँ तथा चालु आर्थिक बर्षमा खर्च नभई बाँकी रहने ७ करोड ७६ लाख रुपैयाँ रकमलार्य समावेश गरिएको छ ।

गाउँसभाबाट पूर्वाधार विकासतर्फ १३ करोड ४५ लाख ७२ हजार रुपैयाँ , सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड २१ लाख ५१ हजार रुपैयाँ , सामाजिक विकासतर्फ २६ करोड ६९ लाख ७० हजार रुपैयाँ , आर्थिक विकासमा १ करोड ५६ लाख २७ हजार ७ सय रुपैयाँ तथा वन, वातावराण तथा विपद् व्यवस्थापन तर्फ ११ लाख बजेट विनियोजन गरेको छ ।गाउँसभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । पालिकाले कृषि, पशुपालन, पर्यटन क्षेत्रको विकास, शिक्षा र स्वास्थ्यको सुधार तथा पूर्वाधार निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । पालिका अध्यक्ष भण्डारीले पालिकाको समग्र विकासलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट तयार गरिएको बताउँदै प्रभाबकारी कार्यान्वनयमा जुट्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र ग्रामिण सडकलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको उपाध्यक्ष पुनले बताउनुभयो ।

























