बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ घारापानी घर भई हाल पोखरा बस्दै आएकी ४३ वर्षीया धनमाया सुनार सात दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत साउन २९ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएकी सुनारको खोजीका क्रममा बिहीबार साँझ पोखरा महानगरपालिका–२५, हेम्जास्थित मिलनचोक नजिकैको खोलामा शव फेला परेको आफन्त सन्दिप रसाईलीले बताउनुभयो ।
सुनार हराएपछि कास्कीका विभिन्न स्थानका साथै म्याग्दीमा रहेका आफन्त तथा चिनजानका व्यक्तिहरूमार्फत खोजीकार्य तीव्र बनाएका थिए । उनको फोटोसहित सामाजिक सञ्जालमार्फत समेत खोजीका लागि अपिल गरिएको थियो ।
खोजीका क्रममा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । सुनारको मृत्यु कसैको संलग्नतामा भएको हो वा आफैंले कुनै कदम चालेकी हुन् भन्ने विषय पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।














