देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

बेनी आईतबार माघ २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता लगायतका सेवा प्रवाह गरिएको छ ।

शिविरमा ९३ वटा नयाँ र १३ वटा प्रतिलिपी नागरिकता वितरण गरिएको सहायक प्रजिअ लीलादेवी अर्यालले बताउनुभयो । दरवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र र देविस्थान स्वास्थ्य चौकीको टोलीले १७२ जनालाई स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सम्बन्धी सेवा दिएको वडा अध्यक्ष पिपला बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयको टोलीले ५० जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गराएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ५३ वटा जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । भौगोलिक, रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाहरुलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको प्रअिज लीलाधर अधिकारीले बताउनुभयो । शिविरमा जुक्जा, राजदाङ, मगरदाङ, रुन्मा लगायत बस्तीका बासिन्दाले सेवा पाएका छन् ।

सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका ग्रामिण क्षेत्रका बासिन्दाका लागि शिविर प्रभावकारी भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । यसअघि प्रशासन कार्यालयको अगुवाईमा धवलागिरी गउाँपालिका १ गुर्जा, रघुगंगा ६ पाखापाननीको कोटगाउँ र मंगला गाउँपालिका १ कुहुँमा एकिकृत घुम्ती शिविर सञ्चालन भएको थियो । आगामी महिना अन्नपूर्ण गाउँपािलका ५ शिखमा पनि शिविर सञ्चालनको तयारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार