नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने

बेनी मंगलबार माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ ।

सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सामान्यवादको अन्त्य र गणतन्त्र स्थापनाको उद्देश्य राखेर जनयुद्ध सुरु गरेको थियो ।

केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह स्तरमा विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि मनाउन लागिएको नेता पौडेलले बताउनुभयो ।

जनयुद्ध, सहिद, घाइते, वेपत्ताहरुको सम्झनाका साथै सभाको आयोजना गरिएको छ । माओवादीको नेतृत्वमा दश वर्षसम्म चलेको जनयुद्ध २०६२ को दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियामा रुपान्तरण भएको थियो ।

राजतन्त्रको अन्त्य, गणतन्त्र घोषणा, संबिधानसभाबाट संबिधान निर्माण, समावेशीकरण हुदै कार्यान्वयनको चरणमा रहेको संघीय शाषण व्यवस्था जनयुद्धका राजनितिक उपलब्धि हुन् ।

जनयुद्धको नेतृत्व गरेको तत्कालीन माओवादी र नेकपा एमाले २०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको क्रममा तालमेल गरेका थिए भने २०७५ जेठ ४ मा पार्टी एकताको घोषणा गरेका थिए । एमाले र माओवादीको एकतापछिको पार्टीको नाम नेकपा बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार