नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

प्रताप बानियाँ
म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले पार्टीका नेता र कार्यकर्ताको बलिदानबाट नै पार्टी निर्माण भएको बताएका छन् । उनले देशमा भएको विभिन्न आन्दोलन र राजनीतिक क्रान्तिमा होनहार योद्धाहरु गुमाउनुपरेको सम्झना गर्दै स्वर्गीय नेताहरुले देखाएको बाटो र सपनालाई पूरा गर्नुपर्ने बताए ।

नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले दलाल र सामन्तवादलाई परास्त गरी अघि बढ्नुपर्ने विकल्प नभएको बताएका थिए । गण्डकी प्रदेशका सांसद विनोद केसीले देशले होनहार र सक्षम नेताहरु गुमाउनुपर्दा पीडा महशुस भएको बताए । नेकपा जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठ र बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले स्व. नेताद्वयको तस्बिरमा अबिरको टिका लगाउँदै फुल चढाएका थिए ।

तत्कालीन नेकपा एमालेको २०५१ सालमा बेनको ९ महिने सरकारको अर्थमन्त्री बनेका नेता भरतमोहन अधिकारी बिक्रम संवत १९९३ साल बैशाख २२ गते जन्मिएका थिए । विगत लामो समयदेखि श्वासप्रश्वास लगायतका रोगबाट ग्रसित अधिकारीको शनिबार राती साढे ९ बजे उपचारकै क्रममा ह्याम्स अस्तालमा निधन भएको हो । उनले पहिलोपटक अर्थमन्त्री बन्दा ‘आफ्नो गाउँ, आफै बनाऔं’, वृद्धभत्ता, नौ ‘स’ जस्ता लोकप्रिय कार्यक्रमहरु ल्याएर एमालेलाई लोकप्रिय बनाएका थिए ।

यसैगरी कास्की क्षेत्रनम्बर २ बाट चुनाव जितेर प्रतिनिधिसभा सदस्य बनेका पर्यटनमन्त्री अधिकारी २०२६ साल बैशाख २२ गते जन्मिएका उनको गत मङ्गलबार हेलिकप्टर दुर्घटनामा परेर निधन भएको हो । तेह्रथुमको चुहानडाँडामा बन्न लागेको विमानस्थलको अवलोकन कार्यक्रमपश्चात् ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेर उनीसहित ७ जनाको निधन भएको थियो । मन्त्री अधिकारीले पनि नेपालमा पर्यटन बढाउन र विमानस्थल विस्तार तथा सुधारका लागि थुप्रै कामहरुको थालनी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार