अन्नपुर्णको शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न

म्याग्दी, शुक्रबार फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ ।


एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयको टोलीले ५२ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ ।


वडा नम्बर ५ शिख र वडा नम्बर ६ घार क्षेत्रका सर्वसाधारणले सेवा लिएको शिविरमा गाउँपालिकाको स्वास्थ्य शाखा र बेनी अस्पतालको समन्वयमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा ५० जनाले स्वास्थ्य परिक्षण सेवा लिएका छन् । त्यसैगरि ४३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका सुचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।


शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत ८४ जनालाई आयुर्वेदीक परामर्श तथा औषधी वितरण, कृषि ज्ञान केन्द्र र कृषि शाखा मार्फत ७९ जना कृषकलाई रोगकिरा मार्ने बिषादी र भिटामिन तथा ११७ जना कृषकलाई विउबिजन वितरण भएको सुचना अधिकारी आचार्यले बताउनुभयो । शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत १ हजार ५०६ वटा कुखुरा, ७५५ वटा भेडाबाख्रा, ३०० गाईभैसी, ४२ वटा खरायो र १३ वटा घोडा गरि २ हजार ६ सय १५ वटा पशुपंक्षीको लागि ओषधी वितरण तथा कृषकहरुलाई परामर्श सेवा प्रवाह भएको थियो ।

दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन जिल्लामा अभियानको रुपमा घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । प्रजिअ अधिकारीले म्याग्दीमा यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लमसुङ, मराङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको जानकारी दिनुभयो ।

दुर्गम र ग्रामीण भेगका जनतालाई सबै प्रकारका सरकारी सेवा सुविधा एकै पटक एकै ठाउँबाट लिन पाउँदा समय र खर्चको बचत संगै घरदैलोमै सुविधा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । शिविरले सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारण र नसक्ने बृद्धबृद्धाहरुको लागि सहयोग पुगेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार