शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?

म्याग्दी, शनिबार फागुन २५ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जाने समस्याले सास्ती दिएको गुनासो गरेका हुन् ।

पर्यटकीय स्थल घोडेपानीका पर्यटन व्यवसायी चन्द बहादुर पुनले दिनमा पटक पटक कतौटी हुने र बिग्रीएको हप्ता दिनमा पनि बिजुली सेवा सुचारु नहुने समस्याले व्यवसायि समस्यामा परेको बताउनुभयो । शिखका देउ बहादुर पुर्जाले बत्ति नै नआउने र असोभनीय तवरले शुल्क लिने गरेको गुनासो गर्नुभयो ।


कार्यक्रममा सहभागि स्थानीय अगुवा बागविर पाईजाले, स्वाँतखोलामा निर्माणधिन पुल निर्माणमा ढिलाई भएको भन्दै निर्माण कम्पनीलाई कारबाही गर्न र पर्यटकहरुको लागि स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने माग गर्नुभएको थियो । सो अवसरमा अन्य सहभागीहरुले भुकम्पबाट पूर्ण क्षती भएर समुदायको अगुवाईमा पुननिर्माण भैरहेको शिख माविलाई क्षतीको सुचिमा नराखिएको, बास्तविक भुकम्प पिडितले अनुदान नपाएको, महिला र युवा क्षेत्रको शसक्तिकरणको लागि गाउँपालिकाले प्रयाप्त बजेट विनियोजन नगरेको गुनासो गरेका थिए भने शिखमा प्रहरी चौकी स्थापना र पोखरेबगर –चित्रे सडक कालोपत्र गर्ने योजनाको कामलाई तिब्रता दिन पहल गर्न माग गरेका थिए ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले स्थानीयका जायज मागहरुलाई सम्बन्धित कार्यालय र सरोकारवालाले गम्भिरतापूर्वक समस्या हल गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्ला स्थित सरकारी कार्यालयको सेवा प्रवाहको अबस्थाबारे गुनासा सुन्नको लागि सार्वजनिक सुनुवाई गरिएको बताउँदै जनस्तरबाट आएका गुनासाहरुलाई हल गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने र आबश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


कार्यक्रममा प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले शान्ति सुरक्षालाई मजबुत बनाउन , अपराध र दुव्र्यसनी न्युनीकरणको लागि प्रहरीले समुदायसंग साझेदारीमा अघि बढ्ने कार्यक्रम सञ्चालन गरेको बताउँदै शिखमा प्रहरी चौकी राख्नको लागि आबश्यक पहल गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलालले गौरबको आयोजनाको रुपमा सञ्चालित पोखरेबगर–घार–खिवाङ–चित्रे सडकलाई समयमै सम्पन्न गराउन नियमित अनुगमन भैरहेको र लाभग्राहीमा छुटेर गुनासो दर्ता गराएका भुकम्प पिडितलाई अनुदानको लागी पहल भैरहेको बताउनुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले अन्नपूर्ण गाउँपालिकाले गाउँपालिकाभित्रको विकास र सुसासनको अबस्थालाई प्रभाबकारी बनाउन प्रयास गरेको बताउँदै सबै क्षेत्रलाई समेटेर बजेट तर्जुमा भएको बताउनुभयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले विद्यूत क्षेत्रमा आईरहेका समस्यालाई हल गर्न कार्यालय प्रयासरत रहेको बताउँदै बैकल्पिक लाइन नहुँदा र भौगोलिक विकटताको कारण समस्या आईरहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार पुनले वडा तहमा रहेका समस्याहरुलाई हल गर्न भैरहेका प्रयासहरुको बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रम प्रजिअ अधिकारीको अध्यक्षता र म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष पत्रकार कमल खत्रीको सहजीकरणमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार