म्याग्दीका स्थानीय तहमा नेकपा एकताको टुङ्गो

सन्तोष गौतम
बेनी चैत १८ गते । म्याग्दीका ६ वटै स्थानीय तह र वडा स्तरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकताको टुङ्गो लागेको छ ।

नेकपा म्याग्दीको सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकले छ वटा स्थानीय तह मध्य चार वटा स्थानीय तह र २८ वटा वडामा पूर्व एमाले तथा दुई वटा स्थानीय तह र १७ वटा वडामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको हो ।

मालिका, मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा पूर्व एमाले तथा बेनी नगरपालिका र धवलागिरी गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । नेकपाका नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो ।
अध्यक्ष पाएको स्थानीय तहमा सचिव स्वत अर्को पक्षको हुने निर्णय भएको छ । बेनी नगरपालिकाको १, ५, ६, ८ र ९ मा पूर्व एमाले, २, ३, ४ र ७ मा पूर्व माओवादी केन्द्रले नेतृत्व पाएको छ ।


धवलागिरी गाउँपालिकाको २, ४, ६ र ७ मा पूर्व एमाले तथा १, ३ र ५ मा पूर्व माओवादी केन्द्रले नेतृत्व पाएका छन् । मालिका गाउँपालिकामा पूर्व माओवादी केन्द्रले ३, ४ र ७ तथा पूर्व एमालेले १, २, ५ र ६ नम्बर वडाको नेतृत्व पाएका छन् ।

मंगला गाउँपालिकामा पूर्व एमालेले १, ४ र ५ तथा पूर्व माओवादी केन्द्रले २ र ३ को नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिकामा पूर्व एमालेले १, २, ३, ६ र ८ तथा माओवादी केन्द्रले ४, ५, ६ र ७ नम्बर वडाको नेतृत्व पाएको छ । रघुगंगा गाउँपालिकाको १, २, ३, ६, ७ र ८ मा पूर्व एमाले तथा ४ र ५ मा पूर्व माओवादी केन्द्रले नेतृत्व पाएका छन् ।

स्थानीय तहका कमिटिमा पूर्व एमालेको तर्फबाट ५९ र माओवादी केन्द्रबाट ४१ प्रतिशत सहभागिता रहने निर्णय भएको छ । चैत २६ गतेभित्र स्थानीय तह र वडाका पार्टी कमिटिको नेतृत्व, पदाधीकारी र सदस्यहरुको नाम टुङ्गो लगाइसक्ने निर्णय भएको छ ।


स्थानीय तहमा एकताको टुङ्गो लगाउन हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर बिक रहेको कार्यदल गठन भएको थियो । कार्यदलको सुझावको आधारमा संयन्त्रले एकतालाई टुङ्गो लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार