बेनीमा नेतृत्व तथा संस्थागत विकास तालिम सुरु

प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख १७ गते ।

म्याग्दीको बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरु हिंसामा पर्ने गरेको हुँदा आयआर्जन तथा व्यवसायिकमूलक क्षेत्रमा आबद्ध भएर आत्मनिर्भर बन्नुपर्ने बताइन् । उनले समाज परिवर्तन र रुपान्तरणका क्षेत्रमा महिलाहरुको ठूलो हात रहेको बताउँदै महिलाको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएकी छिन् ।

बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पराजुलीले तालिममा सिकेका ज्ञान तथा सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्नुपर्ने बताए । दुई दिनसम्म चल्ने तालिममा सहकारी, नेतृत्व, निर्णय कार्य, सहभागितात्मक निर्णय कार्य र महत्व, महिला संस्थामा सहभागितात्मक निर्णय कार्यको विधि, सञ्चार, महिला विकास कार्यक्रममा संस्थागत विकासका चरण तथा महत्व र नेतृत्व विकासका साधक एवं बाधक तत्वहरुका विषयमा सहजीकरण गरिने भएको छ ।

तालिमको बेनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुली, नायब सुब्बा शिव शर्मा, शाखा अधिकृत युवराज थापा, र सहायक महिला विकास निरीक्षक प्रतिमा शर्माले सहजीकरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । दुई दिनसम्म चल्ने तालिममा तत्कालीन महिला तथा बालबालिका कार्यालय म्याग्दीले प्रवद्र्धन गरेका महिला सहकारीमा आबद्ध २५ जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटनसत्र निमित्त प्रमुख पराजुलीको अध्यक्षता, नासु शर्माको स्वागत र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार