डेंगु रोग नियन्त्रण सम्बन्धी बेनीमा सचेतनामुलक सरसफाइ

म्याग्दी,मंगलबार भदौ १७ गते । पछिल्लो समय देशका विभिन्न जिल्लामा डेंगु रोगको महामारी फैलिदै गएपछि यसको नियन्त्रणका लागि देशभर विभिन्न कार्यक्रम संचालन गरिएको छ । यसैगरी डेंगु संक्रमनको उच्च जोखिममा रहेको म्याग्दीमा डेंगु नियन्त्रणका लागि अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सचालन गरिएको छ ।

मंगलबार सदरमुकाम बेनी बजारमा जिल्ला प्रशासन, बेनी नगरपालिका, स्वास्थ्य कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सचेतनामुलक कार्यक्रम सहित सरसफाई गरिएको छ । लामुखुट्टेबाट सर्ने महामारी डेंगु रोगको म्याग्दीमा संक्रमन फैलिन नदिन कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख प्रकाशराज शर्माले बताउनुभयो । छिमेकी जिल्ला बागलुङ र पर्वतमा महामारी डेंगु रोगको संक्रमन भेटिएकाले म्याग्दीमा यो रोग फैलिन नदिन सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो ।

महामारी डेंगु रोग नियन्त्रणका लागि सरसफाइमा ध्यान दिन आग्रह गर्नुहुँदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले महामारी डेंगु रोगबाट बच्न सतर्कता अपनाइएको बताउनुभयो । नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले बेनीबजारमा सचेतनामुलक कार्यक्रम सहित कालिपुल क्षेत्रमा पुगेर डेंगुको जोखिम मानिने स्थानमा सरसफाई गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दी र कालिगण्डकी नदी आसपासको क्षेत्र,यातायातका साधनमा पोखरा,तराईका विभिन्न जिल्लाबाट आवतजावत गर्नेहरूबाट संक्रमणको सम्भावना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार