कस्तुरी बहुउद्देश्यीय सहकारीको दशौं साधारणसभा

बेनी,शनिबार असोज ४ गते ।
म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ सय ४६ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी दुई करोड २१ लाख ९९ हजार सातसय रुपैयाँ रहेको जनाएको छ ।

यसैगरी संस्थाले सञ्चालन गरेको विभिन्न बचत योजनाहरु अन्तर्गत ५६ करोड २६ लाख ३४ हजार तीनसय ५८ रुपैयाँ बचत गरेकोमा ४६ करोड ११ लाख ५९ हजार एकसय ७७ रुपैयाँ बचत फिर्ता गरेको छ । त्यस्तै आवधिक र चल्ती गरी कुल ३५ करोड ९९ लाख ५९ हजार सातसय ७० रुपैयाँ बचत रहेकोमा ३९ करोड १४ लाख ५४ हजार दुईसय २६ रुपैयाँ लगानी गरिएको छ ।

साधारणसभाको अवसरमा सहकारीले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यहरुका छोराछोरीहरु सलिना राम्जाली, शसंक श्रेष्ठ, नयना श्रेष्ठ, श्रीराम श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र समिप श्रेष्ठलाई दोसल्ला ओढाई प्रशंसापत्र र नगदसहित सम्मान गरेको छ । संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै बजार प्रतिनिधि गंगामाया पुन बुढालाई दोसल्ला ओढाएर नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।

अभिभावकत्व ग्रहण कार्यक्रम अन्तर्गत बालमन्दिर आधारभूत विद्यालयका अमन तामाङ, प्रकाश माविका विशाल किसान, बेनी सामुदायिकका गंगा शाक्य र मदरसा विद्यालयका अरमान खानलाई एकसम्म पुग्ने शैक्षिक सामग्रीहरु झोला र स्टेशनरी हस्तान्तरण गरिएको छ । साधारणसभामा संस्थाका अध्यक्ष राजेश शाक्यले भावी कार्यक्रमसहित प्रगति र कोषाध्यक्ष सुन्दरमान शेरचनले प्रस्तावित बजेटससहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले संस्था स्थापनाको छोटो अवधिमै सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए । उनले सहकारी दुर्घटना नहोस् भनेर ‘एक व्यक्ति, एक सहकारी’को अवधारणा ल्याएको भन्दै सरकारले पछिल्लोपटक व्याजदरमा समेत समायोजन गरेको बताए । कार्यक्रम सहकारीका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार