पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्दै इलामको माङसेबुङ गाउँपालिका

इलाम ,बुधबार मंसिर ११ गते । इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्ने भएको छ । नेपालमा पहिलोपटक स्थानीय लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरेको माङसेबुङले सार्वजनिक सूचना प्रकाशन गरी करारमा भाषिक कर्मचारी माग गरेको छ । गत ३ मंसिरमा ‘भाषिक कर्मचारी करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना’ प्रकाशन गरी सहायक चौथो तहको कर्मचारी माग गरेको हो ।

गाउँपालिकाले खुला प्रतिष्पर्धामा करारमा कर्मचारी नियुक्त गर्ने गरी सात दिनको म्याद राखी सूचना प्रकाशन गरेको थियो । निर्धारित समयमा तीन जनाको आवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद दाहालले जानकारी दिए । आवेदकबीच लिखित, मौखिक र प्रयोगात्मक परीक्षा सञ्चालन गरी पदपूर्ति गरिने दाहालले जानकारी दिए ।

‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४’ बमोजिम पदपूर्ति गरिने सूचनामा उल्लेख छ । परीक्षाको मिति १२ मंसिरमा तोकिएको छ । लिम्बू समुदायको बाहुल्यता रहेको वडामा सेवाग्राहीलाई वडाबाट सेवाप्रवाहमा सहजता प्रदान गर्न गाउँपालिकाले भाषिक कर्मचारी नियुक्त गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । ‘लिम्बू जातिको बाहुल्यता रहेको वडा–५ मा गतवर्ष लिम्बू भाषा सरकारी कामकाजी भाषा लागू गरियो’, दाहालले भने, ‘स्थानीय सेवाग्राहीलाई नेपाली र लिम्बू दुवै भाषामा अनुवादका लागि यस वर्षदेखि कर्मचारीको व्यवस्था गर्न लागिएको हो ।’

लिम्बू समुदायको बाहुल्यता रहेको सो वडामा अनुवादक कमर्चारी अभावमा सेवाप्रवाहमा समस्या थियो । कर्मचारी पदपूर्ति भएपछि सेवाप्रवाहमा सहज हुने वडाध्यक्ष नरेन्द्रकुमार राई बताउँछन् । ‘गतवर्ष लिम्बू भाषालाई पनि सरकारी कामकाजी भाषा बनाइयो । तर, कर्मचारी नभएकाले कामकाजमा अन्यन्तै समस्या खेप्नुप¥यो’, अध्यक्ष राईले भने, ‘यस वर्ष कर्मचारी पदपूर्ति भएपछि सेवाप्रवाहमा पक्कै सहजता आउनेछ ।’ माङसेबुङ गाउँपालिका–५ मा गत वर्षको १३ मंसिरमा नेपालमा पहिलोपटक लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरी लागू गरिएको थियो । सौर्य अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार