‘बोक्सी’को आरोप लगाउँदै टोल सुधार समितिद्धारा श्रेष्ठ दम्पतीलाई गाउँ निकाला

काठमाण्डौ ,शुक्रबार मंसिर २० गते । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याखुका रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ दम्पती काठमाण्डौ छिरेको दुईसाता बढी भयो । गाउँलेले बोक्सा बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेपछि उनीहरु छोरा भएको ठाउँमा आइपुगेका हुन् । रत्नबहादुरका पाँच जना छोरा छन् । दुई जना विदेशमा र तीन जना नेपालमै छन् । एक हप्तासम्म चरीकोटमा बसेर श्रेष्ठ दम्पती मंसिर ८ गते काठमाण्डौ आएका हुन् । न्याय माग्न कहाँ जाने, के गर्ने थाहा नपाएपछि छोरा भए ठाउँ आएको उनीहरुले बताए ।

कृष्णमायालाई घर छोड्नु परेकोमा निकै दुःख लागेको छ । ‘घर छोडेको यतिका दिन भए, बस्तुभाउ खेतबारी त्यत्तिकै छन्, मलाई घर जाने वातावरण मिलाई दिनुपर्यो’, कृष्णमायाले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिँड्दा बोक्सी, बस्दा बोक्सी भनेको त सहेरै बसेका थियौँ अहिले त गाउँबाटै एक्लो बनाए, अब हामी कहाँ गएर बस्ने रु’ आफूहरु बोक्सी भएको र कसैको केही बिगारेको प्रमाण देखाए गाउँ नै छोड्न तयार रहेको उनीहरु बताउँछन् ।

गाउँमा कोही मान्छे बिरामी हुँदा, मर्दा, छोराछोरी बिरामी पर्दा, पशुचौपाया मर्दा पनि आफूहरुलाई नै आरोप लगाउने गरेको श्रेष्ठ दम्पतीले बताए । पटक–पटक गाउँलेहरुको गाली, बेइज्जती कुटपिट सहँदै आएका श्रेष्ठ दम्पती अब भने न्याय नपाउञ्जेल गाउँ नफर्कने बताउँछन् ।‘कि त हामीलाई दोषी भएको देखाउनु पर्‍यो नभए न्याय दिनुपर्‍यो’, रत्नबहादुरले भन्नुभयो ।

घटना

रत्नबहादुर बैद्य हुन् । उहाँ झारफुक गरी बिरामीलाई निको पार्ने र जडुबुढीबाट औषधी बनाउने काम गर्नुहुन्छ । रत्नबहादुरलाई गाउँकै धामिझाँक्रीको समूहले इन्द्रजालको किताब पढ्दै टुनामुना लगाउने गरेको भन्दै गएको मंसिर १ गते स्याँखुमा रहेको टोलसुधार समितिलाई उजुरी गरेको थियो ।

धामिझाँक्रीको उजुरीमा टोलसुधार समितिले मंसिर १ बैठक बोलायो । टोलसुधार समितिले बोलाएको बैठकले रत्नबहादुर र उहाँकी श्रीमती कृष्णमाया श्रेष्ठ बोक्सी भएको भन्दै समाजिक बहिस्कार गर्ने निर्णय गर्‍यो ।

समाजमा हुने कुनै पनि काममा बोलाए मात्र जान पाउने, हिडदा पनि कसैलाइ छुन नपाउने गरी हिड्नुपर्ने । गाउँभन्दा टाढा कोही नभएको ठाउँमा बस्नुपर्ने भन्दै धामिझाक्रीसहित बसेको बैठकले निर्णय गर्‍यो ।

सामाजिक बहिष्कार गरेको माइन्युटमा उल्लेख नभएपनि बैठकमा भने श्रेष्ठ दम्पतीलाई गाउँमा हुने भोजभतेरमा जान नदिने एक्लो बनाइने निर्णय गरिएको छ ।

गाउँलेले सामाजिक बहिष्कार गरेपछि श्रेष्ठ दम्पती जिल्ला प्रहरी कार्यालय चरीकोटमा पुगे । आफूमाथि भएको घटनाबारे प्रहरीलाई भने । प्रहरीसमक्ष उनीहरुले टोलसुधार समितिका अध्यक्षसहित ९ जनाविरुद्ध जाहेरी दिए ।

जाहेरीपछि प्रहरीले स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्नबहादुर श्रेष्ठलाई पक्राउ गर्‍यो । अरु भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीमा उजुरी दिई उनीहरु ८ गते काठमाण्डौ आए । काठमाण्डौको धापासीमा उनका छोराहरु बस्छन् । आफूलाई बोक्सा बोक्सीको आरोप लगाएर सामाजिक बहिष्कार गरेको कुरा दम्पतीले छोरालाई भने ।

आमाबुवाको कुरा सुनिसकेपछि छोराहरु आक्रोषितसँगै दुःखी पनि भए । श्रेष्ठका काइँला छोरा सक्षम श्रेष्ठ आमाबुवामाथि भएको ‘घटनाबारे छानबिन गरी पाउँ’ भन्दै मंसिर ११ गते मानव अधिकार आयोगमा जानुभयो । उहाँले निवेदन दिएको दुई दिनभित्रै मानव अधिकार आयोगको टोली पनि दोलखा गयो ।

यता श्रेष्ठ दम्पतीले भने आफूमाथि भएको घटनाको सत्यतथ्य छानबिन गरी न्याय पाउनुपर्ने बताउँदै आएका छन् । आरोप र कुटपिट सहँदै बसेका उनीहरु यो पटक भने न्याय नपाएसम्म गाउँ नफर्कने बताउँछन् ।

‘पटक–पटक सहँदै बसियो, अझै कति सहनु अब हामीलाई न्याय चाहियो’, कृष्णमायाले भन्नुभयो । प्रहरीलाई दोलखामै खबर गरी काठमाण्डौ छिरेका उनीहरु अहिले न्यायको पर्खाइमा रहेका छन् ।

कानुनको अज्ञानता क्षम्य हुँदैन

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले कानुनको अज्ञानता क्षम्य नहुने बताउनुभयो । घटनाबारे अनुसन्धान गर्न दोलखा पुगेर फर्केकी अन्सारीले अज्ञानता, अशिक्षाले नै यो घटना भएको बताउँदै दोषीलाई कारबाही गरिने बताउनुभयो ।

कुनै पनि व्यक्तिलाई बोक्सीको आरोपमा गाउँबाटै निकाल्नु मानव अधिकार उल्लंघन भएकाले यस्तो गर्नेलाई कानुन अनुसार कारबाही गरिने उहाँको भनाइ छ । ‘गाउँमा धेरै धामीझाँक्री रहेछन्, सामान्य बिरामी हुँदा धामीझाँक्री कहाँ जाने गरेका गाउँलेहरुमा रुढिवादी परम्परा अझै कायम छ’, अन्सारीले भन्नुभयो ।

‘श्रेष्ठ दम्पतीलाई पहिले पनि बोक्सा बोक्सी भन्दै कुटपिट गर्दै मेलमिलाप गरिएको रहेछ’, अन्सारीले भन्नुभयो, ‘यस्तो घटना जघन्य अपराध भएकाले मेलमिलाप गराउनु पनि अपराध हो ।’

‘बोक्सीको आरोप लगाइ कुटपिट गर्दा सजाय भोग्नुपर्छ भन्ने गाउँका धेरैजसोलाई थाहा छैन । अहिले गाउँ निकाला गर्नुपर्छ भन्नेहरु पनि पश्चाताप गरिरहेका छन्’, उहाँले भन्नुभयो ।

अब के हुन्छ भन्ने प्रश्नमा अन्सारीले भन्नुभयो, ‘दोषीलाई कारबाही, श्रेष्ठ दम्पतीलाई गाउँमै पुनःस्थापित गराउनुपर्छ ।’ गाउँमा रहेको टोल सुधार समितिलाई धामीझाँक्री समूहले निवेदन दिएर ‘कारबाही गरिपाउँ’ भन्दा टोल सुधार समितिले यो निर्णय गरेको पाइएको अन्सारीले बताउनुभयो ।

‘बद्नाम सहँदैनौ’

रत्नबहादुरका छोरा सक्षम श्रेष्ठले बोक्सा, बोक्सीको आरोपमा आमाबुवालाई गरेको व्यवहारले लज्जित बनाएको बताउनुभयो । काठमाण्डौमा पढ्दै आउनुभएको उहाँले यो घटनाले आमाबुवाले गाउँ छोड्नुको पीडा मात्रै नभइ कजेलमा समेत लज्जित हुनु परेको बताउनुभयो ।

उज्यालोसँग कुरा गर्दै सक्षमले भन्नुभयो, ‘मलाई त साथीभाइसँग बोल्न पनि लाज लाग्न थाल्यो । कलेजमा सबैले यही विषयमा सोध्छन् के भन्नु रु’ उहाँले आरोप लगाउने सबै जनालाई कारबाही गर्नुपर्ने बताउनुभयो । घटनापछि गाउँमा गएका उहाँले पारिवारिक रिसिबीका कारण एक–दुई परिवारले गाउँलेहरुलाई उक्साएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘यो घटनापछि म गाउँमा आएको छु । मेरोसामु कसैले केही बोल्दैनन् । यहाँ त एक, दुई परिवारले गाउँलेलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएका रहेछन् ।’

उजुरी बढ्दै

बोक्सा बोक्सीसम्बन्धी कानुन बने पनि बोक्सीकै आरोपमा कैयौँ मानिसले सामाजिक तिरस्कार मात्र हैन कुटपिट पनि सहनु परेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म मात्रै १३ जनाको उजुरी प्रहरीमा परेको छ ।

यस्तै आर्थिक वर्ष २०७४र०७५ मा ४८, आर्थिक वर्ष २०७५र७६ मा ४५ र चालु आर्थिक वर्षमा १३ उजुरी परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । अझै पनि बोक्सा, बोक्सीको आरोपमा मानिसमाथि कुटपिट भएका कैयौँ घटना प्रहरीमा आउने गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो ।

कतिपय मानिस आफूमाथि भएको अन्यायमा खुलेर आउने गर्दछन् भने कतिपय यस्तै दुर्व्यवहार सहेर बस्ने गरेका छन् । अहिले पनि बोक्सीकै आरोपमा मानिसको मलमूत्र खुवाइने, गाउँ निकाला गरिने, कुटपिट गरिने घटना समाजमा भइरहेका छन् ।

यसका लागि जनचेतना जगाउन र कानुनसम्बन्धी जानकारी गराउन आवश्यक रहेको पोखरेलको ठम्याइ छ ।

कानुनी व्यावस्था

नेपालको संविधानले कुनै पनि व्यक्तिलाई बोक्सा वा बोक्सीको आरोप लगाउन नपाउने व्यावस्था गरेको छ । यस्तो आरोप लगाउने व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने उल्लेख छ ।

कसैलाई पनि बोक्सीको आरोप लगाएमा त्यस्तो व्यक्तिलाई छ महिनादेखि दुई वर्षसम्म कैद र पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको छ भने बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने र बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था गरेको छ । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार