![](https://myagdinews.com/wp-content/uploads/2020/01/mmc.jpg)
म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ।
![](https://myagdinews.com/wp-content/uploads/2020/01/mmc.jpg)
विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित तीन वटा क्याम्पसलाई क्युएएको प्रमाणपत्र दिएको हो। आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीलाई क्युएएको प्रमाणपत्र दिएका थिए। २०७४ चैतदेखि यस अभियानमा लाग्दै आएको म्याग्दी क्याम्पसले शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका कारण क्युएएको मान्यता पाएको क्याम्पस प्रमुख टिकाराम सापकोटाको भनाई छ।
यसअघि नेपालका ३९ वटा सरकारी र सामुदायिक क्याम्पसहरूले गुणस्तर परीक्षणको प्रमाणिक प्रमाणपत्र प्राप्त गरेका छन्। आयोगको टोलीले १२० वटा सूचकलाई १०० अंकमा मापन गरेर मूल्यांकन गरेको थियो। ५० अंक प्राप्त गरेमा ५ वर्षका लागि क्युएएको मान्यता पाउने कार्यविधि रहेको छ। क्युएए मान्यता प्राप्त गर्नका लागि २०७० मा आयोगलाई प्रस्ताव गरिएकोमा २०७४ चैतदेखि प्रक्रिया सुरु भएको थियो। म्याग्दी क्याम्पससहित रामेछापको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस मन्थली र कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले पनि क्युएए पाएका छन्।