क्यान्सर पिडित पौडेलको उपचारका लागि सहयोग संकलन

बेनी, आइतबार फागुन २५ गते । स्तन क्यान्सरबाट थलिएकी बेनी नगरपालिका–९ अलवाङकी ३२ वर्षीया शान्ति पौडेलको उपचारका लागि बेनीमा करिब असी हजार रुपैया सहयोग जुटाइएको छ ।

पात्लेखेत र घतान घर भई हाल बेनीमा बस्दै आएकाहरुले बेनी बजारमा घरदैलो गरेर ७७ हजार ९२० रुपैयाँ संकलन गरेको अभियानको अगुवाई गर्नुभएका दामोदर शर्माले जानकारी दिनुभयो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी शान्तिको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण महँगो उपचार खर्च जुटाउन समस्या भएको छ । गत कात्तिकमा बिरामी परेकी शान्तिको पुषमा स्तन क्यान्सर भएको पहिचान भएको थियो ।

शल्यक्रियाका लागि केमो चढाएर उपचार भैरहेको छ । हालसम्म तीन लाख रुपैयाँ भन्दा बढी खर्च भैसकेको शान्तिका श्रीमान योगनाथ पौडेलले बताउनुभयो । खेतिकिसानी गरेर जिविकोपार्जन गर्दै आएका पौडेल दम्पत्तीको घरको कमजोर आर्थिक अवस्था भएकाले थप उपचार खर्च जुटाउन समस्या भएको छ ।

पौडेल दम्पत्तीका एक छोरा र दुई छोरी छन् । बुवा र आमा उपचारका लागि भरतपुर गएपनि उनिहरु ठूलोबुवाको घरमा बसेर पढ्दै आएका छन् । शान्तिको उपचारका लागि आर्थिक सहयोग जुटाउन बेनीमा दामोदर शर्माको अगुवाईमा अभियान सुरु गरिएको हो ।

सहयोग गरेर शान्तिको उपचारमा सघाउन अपिल गरिएको छ । दामोदर शर्मा र देविप्रसाद शर्माको नाममा सेनसुरी बैंकमा खाता खोलिएको छ । इच्छुक व्यक्तिहरुलाई ११२००००९२०अछ नम्बरको खातामा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार