नगरपालिकाकाे कोरोना रोकथाम कोषमा एक करोड विनियोजन,आइसोलेशन वार्ड बनाउने

म्याग्दी,मंगलबार बैशाख ०९ गते ।

म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

् नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको ५४ औं कार्यपालिका बैठकले थप ५० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो । कारोना नियन्त्रण र रोकथामको लागि आइसोलेशन वार्ड निर्माण, क्वारेनटाइन सञ्चालन र विपन्नको राहत संगै आबश्यक सामाग्री खरिदको लागि आबश्यक बजेटको ब्यबस्थापन गरिएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बराईलीले कोरोना उपचारलाई लक्षित गरि जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार नगरपालिकाको तर्फबाट १० बेड क्षमताको आइसोलेशन कक्ष निर्माणमा बजेट विनियोजन गर्ने निर्णय भएको हो । कोरोना रोकथाम कमाण्ड पोष्टले बेनीमा २० बेड क्षमताको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो ।

फाइल तस्विर

बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि वडा स्तरमा राहत वितरण, स्वयमसेवक परिचालन समेत गर्दै आएको छ । यसअघि नगरपालिकाले बेनी अस्पताललाई पाच लाख रुपैयाँ सहयोग गर्नुका साथै न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शैयाँको क्वारेन्टिन स्थापना, विदेशबाट आएकाहरुलाई एकान्तबास राख्ने, बजार क्षेत्रमा क्लोरिन छर्कने लगायतका काम गरेको छ ।

कमाण्ड पोष्टको निर्णय बमोजिम बेनीको न्यु वेष्ट प्वाइन्टमा नगरपालिकाले १० बेड क्षमताको आइसोलेशन कक्ष बनाउने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमले जानकारी दिनुभयो । अस्पतालमा अन्य रोग र स्वास्थ्य समस्या भएका बिरामीहरुको पनि उपचार गर्नुपर्ने भएकाले संक्रमण फैलने जोखिम तथा अन्य सेवा प्रभावित हुन नदिन अस्पताल बाहिर आइसोलेशन बनाउने निर्णय भएको छ ।

नगरपालिकाले कोरोनाबाट प्रभावितहरुलाई राहत वितरणका लागि कार्य्बिधि समेत बनाइएको छ । यसैबिच बेनी बजारको सडकमा बस्दै आएकाहरुलाई सहज खाना र आवासको जिम्मा समेत नगरपालिकाले लिने भएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना राहत कोषमा स्वच्छिक रुपमा रकम जम्मा गर्ने र अन्य व्यक्ति तथा संघ संस्थालाई पनि आव्हान गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार