![](https://myagdinews.com/wp-content/uploads/2020/04/hawabat-bijuli-myagdi-.png)
म्याग्दी ,बुधबार बैशाख १७ गते । तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदूपयोग गरी हावाबाट बिजुली निकाल्नुभएको छ। जिल्ला सदरमुकाम बेनीको बैंकरोडका तीन दिनको अथक मेहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/04/hawabat-bijuli-myagdi-.png)
‘श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुनुहुन्छ । सधैं हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, सफल भएँ’, श्रेष्ठले भन्नुभयो ।
उहाँले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनीबजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताउनुभयो । पर्यटकीयस्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उहाँको भनाइ छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उहाँको भनाइ छ ।
चार वर्षअघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालीगण्डकी नदीबाट टर्बाइनमार्फत २०० किलोवाट विद्युत् उत्पादन गरी बेनी बजारमा प्रयोग गराएका श्रेष्ठले हावाबाट बिजुली निकाल्न आफू सफल भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न प्रोत्साहन गर्दै आउनुभएको छ । उहाँले बेनीमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन विभिन्न सङ्घसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा पनि सहयोग गर्नुभएको छ ।
साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने उहाँको सोचाइ छ । यसका साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेशन बनाउने उहाँको भनाइ छ ।
तीन दिन लागेर उक्त प्रविधिको विकास गरेको उहाँको भनाइ छ । करिब तीन दशकदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दीका विभिन्न लघुजलविद्युत्सहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपको प्रयोग गर्नुभएको छ ।