रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुई लाख ५१ हजार घरभाडा छुटको घोषणा

बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा छुटको घोषणा गर्नुभएको छ । अध्यक्ष भण्डारीको नाममा काठमाण्डौं ,बेनी नगरपालिका ,जलजला गाउँपालिकामा रहेका घरहरु र जग्गा भाडामा लिएर व्यापार व्यवसाय संचालन गरेका तथा घरभाडामा बस्नेहरुको १ महिनाको घरभाडा छुट गर्ने घोषणा गर्नुभएको हो ।


म्याग्दीको बेनी नगरपालिका–८मा रहेका २ ,पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा रहेका २ र काठमाण्डौ स्थित टोखा नगरपालिकामा रहेको १ घरमा व्यापार ब्यवसाय गर्दै आएका र कोठा भाडामा बस्दै आएकाहरुलाई एक महिना बापतको दुई लाख ५१ हजार रुपैयाँ घरभाडा छुट गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पर्वतबेनी कालिपुल नजीकै रारा अटोपार्टसलाई भाडामा लगाएको आफ्नो जग्गाको समेत एक महिनाको घाडा नलिने उहाँले बताउनुभयो ।विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित व्यवसायी तथा घरभाडामा बसेकाहरुलाई घरभाडा छुटले राहत हुने उहाँको अपेक्षा छ । ‘लकडाउनका कारण व्यापार व्यवसाय थप्प भएका छन्,घरभाडामा बसेकाहरु पनि थप समस्यामा छन् ,यस्तो समयमा भाडा लिनु न्यायोचित नहुने थानेर घरभाडा मिनाहा गर्ने घोषणा गरेको हुँ’,उहाँले भन्नुभयो ।

अध्यक्ष भण्डारीले कोरोना लकडाउनको कारण समस्यामा परेका रघुगंगा गाउँपालिकाका बासिन्दाहरुको लागि व्यक्तिगत रुपमा रु ४ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गर्न सुरु गरेको बताउनुभयो । गाउँपालिकाका सबै वडामा गरिब विपन्न र ज्यालामजदुरी गरि खाने बर्गलाई लक्षित गरि हरेक वडामा पुगेर खाद्यान्न वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस अघि गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीस लाख रुपैयाँँको आकस्मिक कोष स्थापना गरेको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएपछि अहिले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिनको अबस्थामा रहेको कारण आर्थिक कारोबारमा समस्या भएकाले प्रमुख जिल्ला अधिकारी र संघिय मामिला मन्त्रालयमा ध्यानकर्षण गराएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार