बेनी नगरपालिकामा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण सुरु

म्याग्दी,आइतबार चैत २३ । जिल्लाको बेनी नगरपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरेको हो ।

यसैगरी शनिवारवडा नं ८ को वडा कार्यालयले वडा भित्रका ६३ परिवारलाई राहत वितरण गरेको छ ।नगरपालिका अन्र्तगत रहेका वडा कार्यालय मार्फत हरेक वडामा रहेका गरिब, विपन्न र मजदुर परिवारलाई लकडाउनको समयमा खाद्यान्नको अभाब हुन नदिन राहत वितरण सुरु गरिएको हो । वडा कार्यालयमा निवेदन संकलन गरेर वडा समिति, स्थानीय राजनीतिक दल, उद्योग बाणिज्य संघ र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागीतामा निर्णय गरेर वास्तविक व्यक्तिको पहिचान गरि राहत वितरण सुरु गरिएको बेनपा– ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दैनिक ज्याला मजदुरी गर्ने, असाह्य, र विपन्नलाई पहिचान गरि राहत दिन थालिएको छ । शनिवार वडाभित्रका ६३ परिवारलाई राहत वितरण गरिएको र अन्य बाँकी रहेकाहरुको पहिचान गर्ने काम भैरहेको वडा सदस्य हिमबहादुर भण्डारीले बताउनुभयो । बेनपा–८ को वडा कार्यालयका जनप्रतिनिधिहरुले बेनीको गणेशटोल, न्युरोड र कालिपुलमा पुगेर लक्षित व्यक्तिलाई राहत वितरण गरेका हुन् ।

वडा कार्यालयले २ जना सम्मका परिवारलाई आधा प्याकेज र त्यहाँभन्दा माथि परिवार सदस्य रहेकालाई प्रतिपरिवार २५ केजी चामल, ३ केजी दाल, २ केजी नुन , २ केजी चिनी, ४ वटा सावुन र २ लिटर खानेतेलको राहत प्याकेज दिएको छ । परिवार सदस्यको आधारमा ५७ परिवारलाई पुरा र ६ परिवारलाई आधा प्याकेजको राहत दिईएको वडा कार्यालयले जनाएको छ । राहतले ठुलो सहयोग पुगेको बेनपा–८ मा ज्यालामजदुरी गरि जिविकोपार्जन गर्दै आउनुभएकी मिना थापा मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार