मालिका गाउँपालिकामा विपन्न परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण (फोटो फिचर )

बेनी ,आइतबार चैत २३ गते ।
म्याग्दीको मालिका गाउँपालिकाले विपन्न परिवारलाई खाद्यान्न राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित गाउँपालिका भित्रका गरिब ,ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवालाई गाउँपालिकाले आइतबारदेखी खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको हो । आइतबारदेखी सुरु भएको राहत वितरण अन्तर्गत वडा नं १ र ३ मा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ मा ९५ घरधुरीका चार सय ८६ परिवार ,वडा नं ३ मा दुई सय बढी घरधुरीका करिब ६ सय बढी परिवारलाई दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री वितरण गरिएको हो ।

वडा नं १ र ३ सहित गाउँपालिकाका सात वटै वडा भित्रका सात सय ९५ घरधुरीका ३३ सय ४७ परिवार संख्यालाई १२ सय बोरा चामल,६७ बोरा नुन ,१ ६७ प्याक तेल र ६१ बोरा दाल वितरण गरिने उपाध्यक्ष विटालुले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,उपाध्यक्ष विटालु ,वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली (सुविन),वडा नं ३ का अध्यक्ष हेम बहादुर पुन ,कार्यपालिका सदस्य ,गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत सोमबहादुर केसी ,गाउँपालिकाकी स्वास्थ्य संयोजक सन्तु कार्की ,इन्जिनियर उत्तम पुन मगर,प्रदिप चौधरी ,कर्मचारी सावित्री गर्बुजा ,खशिला गुरुङ्ग ,इलाका प्रहरी कार्यालय दरबाङ्गका प्रहरी निरिक्षक राजेन्द्र कुमार अधिकारी,शसस्त्र प्रहरी लगायत गाउँपालिकाका कर्मचारीहरु तथा सामाजिक अगुवाइहरुको सहभागितामा सो राहत सामाग्री वितरण गरिएको हो ।

यसैगरी गाउँपालिकाले आइतबार पनि अन्य वडामा राहत वितरण गर्ने उपाध्यक्ष विटालुले जानकारी दिनुभयो । प्रत्यक वडाबाट विपन्न परिवार संख्याको लगत संकलन गरी राहत वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र खेतियोग्य जमिन नभएकाले लकडाउनले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आइरहेका परिवार समस्यामा परेको उपाध्यक्ष विटालुले बताउनुभयो ।

लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका सबै वडा भित्रका गरिब ,असहाय ,विपन्न तथा मजदुर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री वितरण गरिने गाउँपालिकाका अध्यक्ष रोका मगरले बताउनुभयो । राहत सहयोग संगै दैनिक ज्यालादारी जिविकोपार्जन गर्दै आइरहेका मजदुर ,मजदुर तथा असहाय परिवारलाई राहत हुने अध्यक्ष रोका मगरको अपेक्षा छ । गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाख रुपैयाँका आकस्मिक कोष स्थापना गरेको छ । अध्यक्ष रोका मगरले विषम परिस्थितीमा सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुहुँदै लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार