मराङमा श्रमिक र विपन्न परिवारलाई राहत वितरण

तेजिन्द्र पुन
मराङ, शनिबार चैत २९ गते । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका ८८ घरपरिवारलाई बिहीबार राहत वितरण गरिएको छ ।कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण प्रभावित भएका श्रमिक, विपन्न र अशक्त परिवारलाई गाउपालिकाले खाद्यान्न वितरण गरेको हो ।

प्रति परिवार एक बोरा चामल, तीन पोका खाने तेल, दुई किलोग्राम नुन र २ वटाका दरले साबुन वितरण गरिएको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । वडा अध्यक्ष सुवेदीका अनुसार राहत वितरणका लागि पर्वत बेनीको सागर पोल्ट्री फार्मका सञ्चालक यामनाथ सुवेदीले छ बोरा चामल सहयोग गर्नुभएको थियो ।

सरकारले बनाएको मापदण्ड अनुसार आवेदन संकलन गरि सर्वदलीय, सर्वपक्षीय समितिले छनौट गरेका परिवारलाई राहत उपलब्ध गराइएको हो । वडाका बासिन्दाका अलावा बाहिरबाट काम गर्न आएका मजदुरहरुले पनि राहत पाएका छन् । शुक्रबार मल्कवाङमा राहत वितरण गरिने गाउपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार