‘मलाई सुनियोजित रुपमा फसाउन खाेजियो’– वडा अध्यक्ष शेरपुजा

बेनी ,आइतबार चैत ३० गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका–६ का अध्यक्ष मनकुमार शेरपुजाले आफ्नो चरित्र हत्याको प्रयास भइरहेको बताउनुभएको छ । राजनितिक दवाबमा आफु नभएको समयमा घरमा खानतलासी गरी गोली बरामद गरिएको भनेर आफ्नो चरित्र हत्याको षड्यन्त्र भएको वडा अध्यक्ष शेरपुजाले एक अपिल विज्ञप्ती मार्फत बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा बुलेट छ भन्ने शब्द प्रयोग गरेको आधारमा घर खानतलासी गरी एक थान गोली बरामद गरेको भन्ने अप्रत्यासित खबरले अचम्मित भएको वडा अध्यक्ष शेरपुजाद्धारा जारी अपिल विज्ञप्तीमा उल्लेख छ ।

वडा अध्यक्ष शेरपुञ्जाद्धारा जारी विज्ञप्ती ।

‘मलाई सुनियोजित रुपमा फसाउन खोजियो’, वडा अध्यक्ष शेरपुजाले भन्नुभयो ,‘ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिएकै आधारमा मेरो अनुपस्थितीमा घरको खानतलासी गरी गोली बरामद गरिएको र सोही विषयलाई आधार बनाई मेरा विरुद्ध खरखजाना सम्बन्धी मुद्धा दायर गरेर कानुनी प्रक्रिया अगाडी बढाउन खोजिएको भन्ने अपुष्ट समाचारले मलाई आश्चर्यमा पार्नुका साथै दुख समेत लागेको छ , यो सत्तारुद्ध राजनितिक दलको दवाब र प्रभावमा मेरो चरित्र हत्या गर्न सुनियोजित रुपमा रचिएको षड्यन्त्र हो । म माथि अन्याय भएको छ ,मैले न्याय पाउनुपर्छ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९)को विरुद्धमा वडा कार्यालय खटीरहेको समयमा यस्तो षड्यन्त्र हुनु दुखद भएको समेत विज्ञप्तीमा भनिएको छ । अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुक मार्फत “नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउछु” भन्ने स्टाटस लेख्नुभएको थियो ।साथै नेकपा रघुगंगा गाउँपालिकाले विज्ञप्ती मार्फत धम्की दिएको विज्ञप्तीमा उल्लेख छ ।

शेरपुजा वि.सं. २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस विषयमा नेपाली कांग्रेस रघुगंगा गाउँपालिका र पार्टीले समेत सोमबार आधिकारिक धारण सार्वजनिक गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार