दुई करोड बढी खर्च गरेर बनाएको पुल ६ महिनामै जीर्ण

म्याग्दी ,आइतबार बैशाख २८ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्मित शिख-स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गएको मङ्सिरमा पुल निर्माण गरेको थियो ।

तस्बिर : सेते तिलिजा पुन

३१ मिटर लम्बाइको यो पुलको बीच भागमा दुई वटा भ्वाङ परेको छ । कमसल निर्माण सामग्री प्रयोग गरेको कारण पुलको अवस्था जीर्ण बनेको र ठेकेदारले लापरबाही गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

ठेकेदार कम्पनी स्वच्छन्द गौचन जेभीका प्रतिनिधि ओभरसियर सुनम बरालले पुल निर्माणको अवधि गएको चैत मसान्तसम्म रहेकोमा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेका कारण काम स्थगन गरिएको बताउनुभयो ।

तस्बिर सेते तिलिजा पुन

उहाँले पुलको संरचनामा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भासिएको प्रतिक्रिया दिनुभयो । स्थानीयवासीले भने पुलमा नै दुई वटा भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

तस्बिर: सेते तिलिजा पुन

जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुङ्गानाले ठेकेदार कम्पनीका प्रतिनिधि र कामदारले काम गरिरहेको अवस्थामा लकडाउन भएका कारण गएको चैत १७ गते पास दिएर घर पठाइएको र बाँकी काम लकडाउन खुलेपछि गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार