सीमारक्षक सिपाही भत्किएका झुप्रोमा,सीमा सुरक्षा गर्न भारतकै बाटो

दाङ ,मंगलबार बैशाख ३० गते । भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् ।

बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ । ‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन ।

जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन् ।

सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ । ‘नेपालतर्फ सडक सञ्जाल जोडिएको छैन ।

त्यसैले एउटा पोस्टबाट अर्कोमा जानुपरे भारतकै सडकको प्रयोग गर्नुपर्छ,’ इन्स्पेक्टर पाण्डेले भने, ‘अर्को देश भएकाले भारतीय अनुमति नलिई हातहतियार पनि बोक्न पाउँदैनौँ ।’

(नयाँ पत्रिका )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार