कर्णाली नदीले कटान गर्दा सीमास्तम्भ बगे

लम्की,बुधबार जेठ ०७ गते । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् ।

तस्विर साभार : गोरखापत्र

यो वर्षको नदी कटानले ७०१र१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघिदेखि कटान सुरु गरेको हो । नदीले तीन सय मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए । ‘नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ’, नगरप्रमुख रावलले भने, ‘साता नबिल्दै स्तम्भ नदीमा मिसियो ।’

प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताए । ‘नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ’, रावल भन्छन्, ‘अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो ।’ यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो । विसं २०४० मा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीयवासी बताउँछन् । विसं २०४० मा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो । तिनै गाउँ अहिले बगर बनेका स्थानीयवासी झपट बुढाले बताए ।

अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ । तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताए । उनले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिए ।

नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् । त्यस्तै सहायक सीमास्तम्भ ७०२र२ देखि ७०२र७ सम्म, ७०४र३, ७०४र४, ७०४र६ र ७०५र३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ । तीमध्ये धेरैजसो सीमास्तम्भ पुनःनिर्माणको समस्या भइरहेको छ । ‘सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ’, सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भने, ‘कुन ठाउँमा पुनःनिर्माण गर्ने भन्ने नै अन्योल छ ।’

कैलालीमा जम्मा २ सय ८२ सीमास्तम्भ रहेका छन् । तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिएका छन् । ‘हामी मर्मतको काम गरिरहेका छौँ’, धामीले भने, ‘दुई देश नेपाल र भारत मिलेर मर्मतको काम भइरहेको छ । कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन् । बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?’ रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार