नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ८ पुग्यो

काठमाण्डौं,सोमबार जेठ १९ गते ।
नोभेल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएसँगै यो संख्या आठ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिकाको कोभिडले मृत्यु भएको जानकारी दिए ।

आठ दिनअघि आमाबाबुसँगै भारतबाट आएकी उनलाई ज्वरो, श्वासप्रश्वासको समस्या र पखाला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै, शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

प्रवक्ता डा. देवकोटाका अनुसार नेपालमा अहिलेसम्म एक हजार पाँच सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये दुई सय २० जना उपचारपछि घर फर्किएका छन् । आइतबार थप एक सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित हुनेहरू महिलाभन्दा पुरुष बढी देखिएका छन् । संक्रमितमध्ये आठ प्रतिशत महिला र ९२ प्रतिशत पुरुष संक्रमित छन् ।

अहिलेसम्म आरटी–पिसिआर परीक्षण ६९ हजार पाँच सय ८७ जनाको र आरडिटी परीक्षण एक लाख ११ हजार एक सय नौजनाको भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार तीन सय ४४ संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा छन् । आइतबारसम्म एक लाख १९ हजार एक सय ९२ जना क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार