गलकोटको शिव माध्यामिक विद्यालयले विद्यार्थीलाई घरमै पुस्तक उपलब्ध गरायो

थम्मन थापा
बागलुङ ,शुक्रबार जेठ २३ गते ।

गलकोट नगरपालिका वडा नम्बर ८ को एक सामुदायीक विद्यालयले घर आगनमै पुगेर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । शिव माध्यमिक विद्यालय राजबगरले कोरोना भाइरस कोभिड– १९ को संक्रमणलाई मध्यनजर गर्दै घर घरमै पुगेर विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालयका प्रधानध्यापक हरी चालिसेले जानकारी दिनुभयो ।

गत चैत ११ गते देखि देशमा लक डाउन जारी रहेकोले यस वर्ष शैक्षिक सत्रको झण्डै २ महिना बित्न लागी सक्दा पनि विद्यालय सुचारु हुन सकिरहेका छैनन । कोरोना भाइरसको कारण अहिले विश्व नराम्ररी प्रभावित भैरहेका बेला नेपालमा शैक्षिक क्षेत्र पनि प्रभावित बनेको छ । यस विषम परिस्थितिमा नयाँ पाठ्यपुस्तक विद्यार्थीको घर आँगनमा पुर्याउनु कठिन कार्य भएपनि उक्त विद्यालयले पुस्तक पुर्याएको विद्यालयले जनाएको छ ।

कारणवस पुस्तक प्राप्त गर्न नसकेका विद्यार्थीले आफ्नो टोलमा रहेका शिक्षक सँग सम्पर्क गर्न अभिभावकलाई अनुरोध समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलले बताउनु भयो । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन उच्च सावधानी र सतर्कता अपनाउन यस वर्षको शैक्षिक सत्र नियमित रूपमा सञ्चालन गर्न नसकिएको भन्दै विद्यालयले प्रत्येक टोल टोलमा शिक्षक प्रतिनिधि पठाएर सामाजिक दुरी कायम गर्दै सुरक्षित रूपमा निरन्तर सिकाइ सहजिकरण गरेको छ ।

उक्त कार्यले विद्यार्थीहरूमा पढाइप्रति ध्यान केन्द्रित गर्न सघाउ पुग्ने बताइएको छ । वि. सं २०४० सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ । विद्यालयमा गलकोट नगरपालिका वडा नं ८ साविकको काँडेबास गा.वि.स. वडा नं. १–७, गलकोट नगरपालिका वडा नं ९ साविकको मल्म गा।वि।स। वडा नं.३–६ बाट विद्यार्थीहरू अध्ययन गर्न आउने गर्दछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार