बागलुङमा स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना संक्रमण

बागलुङ । जिल्लाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको जैमिनी नगरपालिकाका एक ५२ वर्षीय स्वास्थ्यकर्मीसहित ६ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि थप सजगतासहित कन्ट्याक ट्रेसिङ थालिने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘देशमा लकडाउन हटेको हो, कोरोना हटेको छैन भनिरहेका छौं, तर अहिले भिडभाड बढ्न थालेको छ,’उनले भने, ‘स्वास्थ्यकर्मीमा समेत पहिलो पटक कोरोना संक्रमण देखिएको छ, उहाँमा के कसरी संक्रमण भयो भन्नेबारेमा अब विस्तृत अध्ययन गर्छौं, यसले थप सचेतता अपनाउन जरुरी देखिएको छ ।’

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई उपचारका लागि धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको कार्यालय प्रमुख गुरौले जानकारी दिए । स्वास्थ्यकर्मी क्वाटरमै बस्ने भएकाले क्वाटरमा बस्ने, कार्यालयमा कार्यरत कर्मचारीसहित फिल्डमा गए नगएको बुझेर सम्भावित जोखिममा रहेका सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने उनले बताए ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० वर्षीय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ वर्षीय दुईजना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र ३४ वर्षीय दुईजना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

बिहीबार संक्रमण पुष्टि भएका मध्ये बागलुङ नगरपालिकाका एकजना बहराइनबाट आएका हुन् भने अन्य छिमेकी देश भारतबाट आएका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको बन्दाबन्दी (लकडाउन) खुले पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन ।

बिहीबार मात्र गण्डकी प्रदेशमा एकै दिन ३८ जना थपिएका छन् । जसमध्ये बागलुङका ६ जनासहित कास्कीमा १४, स्याङ्जामा ११, लमजुङ ३, तनहु १, नवलपरासी १ रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४सय७९ पुगेको छ । यसमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्कनेको संख्या १२ सय ३० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए । annapurnapostबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार