डेढ महिनापछि बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी — ४३ दिनदेखि अवरुद्ध बेनीजोमनसोम सडक सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा वेससहित सडक पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक सोमबारदेखि सञ्‍चालनमा आएको हो ।

उक्त स्थानमा विष्फोटन गरी नयाँ ट्रयाक खोलेसँगै सोमबार दिउँसो १ बजेदेखि बेनी–जोमसोम सोझो यातायात सञ्चालन सम्भव भएको हो ।

असार २७ गते सदरमुकाम बेनीदेखि तीन किमी उत्तर राहुघाट खोलामा आएको बाढीले गलेश्वरको बेलिब्रिज बगाएपछि बेनी–लेते ४५ किमी सडक खण्डमा यातायात अवरुद्ध थियो । त्यसैगरी सोही राति आएको बाढीपहिरोले सो खण्डमा दर्जनबढी स्थानमा सडक कटान गरेपछि यातायात पुरै अवरुद्ध थियो ।

‘बेनी–जोमसोम सडकको सबैभन्दा कठिन भुगोल रहेको काप्रे भीर खण्डमा विस्फोटन गराइ ४ मिटर चौडा र १५ मिटर लामो सिंगल लेनको ट्रयाक खुलेसँगैसोझो यातायात खुलेको छ,’ बेनी–जोमसोम सडक आयोजनाका इन्जिनियर आशिष मानन्धरले भने, ‘रुप्से झरना र काप्रेभीरमा सिंगल लेन तथा टर्निङमा ठूला ट्रकहरुलाई अलि गाह्रो हुन्छ । केही मिलाउँदै गाडी चलाउन सकिन्छ ।’

असार २७ गतेको भिषण वर्षापछि आएको बाढीले ढलाएको गलेश्वरस्थित बेलिब्रिज साउन २८ गते एक महिनाको प्रयासमा मर्मतगरी सञ्चालनमा आएपछि डोजरले सडक मर्मत गर्दै तलबाट माथि पुगेको हो । त्यसैगरी मुस्ताङतिरबाट पनि सडकका डोजरले लेतेबाट तल काप्रेभीरसम्म सडक मर्मत गर्न एक महिनाबढी लागेको थियो ।

‘सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, खाना पकाउने एलपी ग्याससहित सबै ढुवानी अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको थियो । मुस्ताङीकै जोडबलले सडक यति चाँडो खुलेको हो,’ सडकका सुपरभाइजर इन्द्रसिं शेरचनले भने, ‘प्राविधिक, कामदार र आयोजनाका कर्मचारी झरीबादल र बाढीपहिरो झेल्दै बढो कष्टसाथ काम गरियो ।’कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार