ईश्वर पोखरेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकमा नियुक्ति

काठमाडौँ । यस अघि विभिन्न लाभका पदमा नियुक्ति लिएका डा. उपेन्द्र कोइरालालाई अर्थमन्त्रालले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ। उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत रहेका कोइराला विगतमा लाभका पदमा रहँदाको कार्यकाल सँधै विवादास्पद रहेको छ।

मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका हुन्। रक्षामन्त्री पोखरेलको दवावमा उनलाई उक्त पदमा नियुक्त गरिएको बताइएको छ। बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्षमा कोइरालालाई नियुक्त गर्ने तयारी सहित लाभको पद दिइएको हो। अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था रहेको छ। बुधबार बस्ने बैठकले उनलाई अध्यक्षमा चयन गर्ने स्रोतले बतायो।

यस्तो छ कोइरालाको विगत
कोइराला विगतदेखि नै लाभको पद हात पारिराख्ने व्यक्ति हुन्। तर उनले पद सम्हालेका ठाउँहरुमा उनको छाप भने राम्रो पाइदैन। उनको कार्यकाल सँधै विवादमा तानिएको छ। कतिपय ठाउँमा त विवाद कै कारण बिचमै राजीनामा दिनुपर्ने अवस्था समेत आएको छ।

उनले २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त पाएका थिए। २०५१ देखि नै उनले विभिन्न नियुक्ति पाउँदै आएका छन्। तत्कालिन नेकपा एमालेको सरकार बनेका समयमा उनले कुनै न कुनै पदमा रहिरहे। आफ्ना सम्धी ईश्वर पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका कोइराला आयल निगमको कार्यकारी अध्यक्ष भएका थिए। उनले महेन्द्र मोरङ क्याम्पसको प्रमुखको जिम्मेवारी समेत पाएका थिए। उनले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्ति पाए। तर परीक्षा पुस्तिकाका लागि कमसल कागज खरिद गरेको भन्दै उनीमाथि छानविन समेत भएको थियो। त्यहाँबाट राजीनामा दिएका कोइराला बेरोजगार भएनन्। उनले उक्त विवाद सेलाउन नपाउँदै नियुक्ति पाइहाले।

सँधै नियुक्तिमा रहने र विवादमा आइरहने कोइरालाले प्रतिष्ठित पद फेला पारे। उनी मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति बने। तर त्यहाँ पनि उनले प्रतिष्ठा जोगाउन सकेनन्। आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध छानविन गर्यो । उनीविरुद्ध विश्वविद्यालयमा आन्दोलनै भएको थियो।

सँगै लाभका पद र विवादमा रहिरहने कोइरालाले यस पटक पनि सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा नियुक्ति भएका छन्। उनको नियुक्तिको विषयलाई लिएर समाजिक संजालमा रक्षामन्त्री पोखरेलसँग जोड्दै आलोचना भइरहेकोछ।नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार