रथ तान्न उर्लियो भीड, झडपमा इन्सपेक्टरसहित ७ प्रहरी घाइते

काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ ।

यस्तो अवस्थामा बिहीबार ललितपुरमा कोरोनाको कुनै परबाह नगरी स्थानीय सडकमा उर्लिए । जारी निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले बल प्रयोग गरेको थियो ।

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।


स्थानीयको ढुंगामुढाबाट इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले जानकारी दिए । भीडले ट्राफिक प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेको छ । यस्तै केही स्थानीय नि घाइते भएका छन् ।

प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ ।

कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार