परराष्ट्रमा ५ सहसचिव थप्‍न प्रस्ताव

काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवामा ५ सहसचिवको दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको छ । परराष्ट्रले उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयमा पठाइसकेको छ । तर, दुवै मन्त्रालयले यस विषयमा अहिलेसम्म राय दिएका छैनन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयमा एक जना सहसचिवको दरबन्दी थप्दा वार्षिक दुई करोडभन्दा बढी खर्च हुन्छ । यसले गर्दा राज्यको खर्च बढ्छ । परराष्ट्र मन्त्रालयमा हाल सहसचिवका १८ दरबन्दी छन् । परराष्ट्र सेवाको कुल दरबन्दी भने करिब दुई सय ५० छ । सहसचिवको दरबन्दी थप्ने सम्बन्धमा आफूलाई थाहा नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

पाँच सहसचिवको दरबन्दी थपिँदा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका निजी सचिव तेजबहादुर क्षेत्रीलगायत स्वतस् सहसचिवमा बढुवा हुने छन् । मन्त्रालयले राष्ट्रपति कार्यालय, परराष्ट्र मामिला अध्ययन केन्द्र र मन्त्रालयलाई देखाउँदै सहसचिवको दरबन्दी थप्न लागेको हो ।

‘राष्ट्रपति कार्यालयमा सहसचिवको आवश्यकता रहन्न, बरु त्यहाँ अधिकृतले पनि काम चल्छ, त्यहाँ परराष्ट्र सेवाका कर्मचारीले सहयोगीको भूमिका मात्र निर्वाह गर्ने हो,’ परराष्ट्र मन्त्रालयबाट अवकाश लिएका सहसचिव अर्जुनकान्त मैनालीले भने, ‘परराष्ट्र मामिला अध्ययन केन्द्र विकास समितिअन्तर्गत गठन भएको हो । उनीहरूको काम अध्ययन र अनुसन्धान गर्ने हो । यस्तो स्थानमा सहसचिवलाई पठाउँदा कसरी त्यहाँ व्यवस्थापन गर्न सकिन्छ ? यो नमिल्ने कुरा हो ।’

उनले परराष्ट्रले कहाँ र कसरी दरबन्दी आवश्यक छ भनेर अन्य सेवालाई बुझाउन नसकेको र अन्य सेवाले पनि परराष्ट्रलाई बुझ्ने कोसिस नगरेको कारण समस्या आइरहेको बताए । परराष्ट्र मन्त्रालयमा केही समयभित्रमा चार सहसचिवको दरबन्दी खाली हुँदै छ ।

मन्त्रालयमै दरबन्दी खाली हुने अवस्थामा केही व्यक्तिको मुख हेरेर दरबन्दी थप्न नहुने एक अधिकारीले बताए । व्यक्तिको क्षमताअनुसार पदमा बढुवा हुनुपर्नेमा दरबन्दी थपिएपछि फाइल बढुवाका आधारमा सहसचिव बनाउने काम गलत हुने ती अधिकारीले जनाए ।

उनका अनुसार मन्त्रालयमा अहिले पुल दरबन्दी खाली हुने बताए । राजदूतको कार्यकाल पूरा गरेर केही सहसचिवहरू फर्कंदै छन् भने ती सहसचिव राजदूत नियुक्त भएर जाँदै छन् । अर्को महिना परराष्ट्र सचिव शंकरदास बैरागीले अवकाश पाउँदै छन् । उनको स्थानमा अर्को एक जना सहसचिव बढुवा हुनेछन् र त्यहाँ सहसचिवको एक पद खाली हुनेछ ।

त्यसलगत्तै सहसचिवद्वय कालीप्रसाद पोखरेल र यज्ञबहादुर हमालले पनि अवकाश पाउनेछन् । त्यस स्थानमा पनि सहसचिव पद खाली हुनेछ । केही समयअघि सरकारले तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको थियो । त्यसमध्ये दुई जना राजदूत फर्किएर सहसचिवमा काम गर्न आए पनि एक जना सहसचिवको पद अझै खाली हुनेछ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार