सिन्धुपाल्चोक पहिरो: नौ शव भेटिए, २२ जना बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नौ जनाको शव फेला परेको छ । अझै २२ जना बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार छन् ।

बाह्रबीसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोले जमिन भास्सिएर अझ ठूलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलको नामोनिसान मेटिएको छ । माथिल्लो टोलका घाइतेलाई दुई घण्टापछि मात्रै उद्धार गरेर बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । श्रेष्ठका अनुसार पहिरोमा अझै २२ जना बेपत्ता छन् । उनीहरूको नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

पल्लोछेउदेखि वारि भिरखर्कसम्म पहिरो खसिरहेकाले शोकाकुल स्थानीय तल्लो भेगमा बसाइँ सर्दैछन् । भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानतिर लगिँदै छ । उद्धारकार्यमा खटिइरहेका इलाका प्रहरी बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएका भिरखर्कका तीन घाइतेलाई काठमाडौं रिफर गरिएको जानकारी दिए । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार