कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले सुरु गरे प्लाज्मा दान अभियान

काठमाडौं । कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् । काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड १९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् ।

उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् । कार्यक्रममा त्रि।वि।शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड १९ संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।

कार्यक्रममा कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरुले संक्रमणबाट गम्भिर अवस्थामा पुगेका विरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफुहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं, सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान शुरु गरिएको उनीहरुले बताए ।

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्नेपनि उनीहरुले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार