रसुवागढी नाकाबाट आयात सुरु

रसुवागढी । रसुवागढी नाकाबाट पुनः आयात सुरु भएको छ। कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट बुधबारदेखि पुनः आयात सुरु भएको हो।

चिनियाँ गाडीले बुधबार एउटा गाडीमा स्वास्थ्य सामग्री ल्याएको थियो भने बिहीबार पाँचवटा गाडीमा सामग्री ल्याएको छ। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार नेपाल तर्फ सामग्री झार्न थालेपछि मात्र चिनियाँले सामग्री आयाथत बढाउने छन्।

‘अहिले दैनिक पाँचवटा चिनियाँ ट्रकले सामग्री ल्याउने छन्’, ‘उनले भने, ‘नेपालको भूभाग तर्फ सामग्री झार्न थालेपछि उनीहरूले सामग्री आयात बढाउँछन्।’ अहिले स्वास्थ्य सामग्री तथा रेडिमेड सामग्री बढी मात्रामा आएको छ। लामो समयदेखि अड्किएका सामग्री र दशैंका सामग्री आउने क्रममा रहेको छ। अहिले ल्हासा, सिगात्से, पाङसिङ लगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री राखिएको छ।

तीन साताअघि रसुवागढी नाकामा लोडअनलोड गर्ने नेपाली कामदारमा कोरोना संक्रमण भएपछि चिनियाँ पक्षले आयात रोकेको थियो। विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले यसअघि सामग्री मितेरी पुलमा झार्दै आएका छन्।

मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ। अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार