होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु

मोरङ । मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

उर्लाबारी–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जनाकारी दिए।

१० वर्षअघि परिवारसहित भारतको दार्जिलिङबाट आएका मल्लिक उर्लाबारीमा बस्दै आएका थिए। उर्लाबारीमा सुनको गहना बनाउने काम गर्दै आएका मल्लिक आइतबार राति ११ः३० बजेतिर परिवारसहित युनिक होटल पुगेको प्रहरीले जनाएको छ। उनी होटल पुग्नुअघि नै मदिरा सेवन गरी सकेको बताइएको छ। होटलमा गएर मदिरा माग्दै विवाद गर्न थालेपछि होटल सञ्चालकसँग झगडा भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाद बढ्दै गएपछि तामाङले कुटपिट गर्दै धकेलेर लडाइदिँदा मल्लिक बेहोस भए। टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उर्लाबारीको गोदवारी अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बि एण्ड सी अस्पताल लगिएको थियो।

उनको उपचार सम्भव नभएपछि बि एण्ड सीले भारतको सिलिगुडी रेफर गरेको र उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको एसपी खड्काले बताए। मृतक मल्लिकको शव नेपाल ल्याउन प्रक्रिया थालेको प्रहरीले जनाएको छ। घटनामा संलग्न होटल सञ्चालक तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिँदै कर्तव्य ज्यान मुद्दा चलाउनअनुसन्धान थालेको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार