सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना पक्राउ

भक्तपुर । सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन्।

भक्तपुर नगरपालिका–१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका–८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार