नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘माहुरी झरना’

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवर्द्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो ।

बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक माहुरी झरनामा पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिइएको छ । लेखानी र रेशको बीचमा रहेको रेश खोलास्थित माहुरी झरनामा पुग्नका लागि पदमार्ग नभएका कारण समस्या भएकाले स्थानीयवासीको सक्रियतामा अहिले व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिइएको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारको रु= ११ लाखबाट झरनामा पुग्नलाई गैराघरदेखि नेटासम्म ३ सय मिटर पदमार्ग निर्माण गरिएको थियो । त्यतिले पर्याप्त नभएका कारण अहिले स्थानीयवासीले जनश्रमदानमार्फत पदमार्ग निर्माण गरिरहेको माहुरी झरना प्रवर्द्धनमा लागेका स्थानीयवासी हरि कुँवरले जानकारी दिए । जनश्रमदानबाट अहिले २ सय मिटरभन्दा बढी पदमार्ग बनाइएको र आगामी दिनमा थप एक सय मिटर बढाइने कुँवरको भनाइ छ । “अत्यन्तै सम्भावना रहेको उक्त झरनालाई अहिले आएर बल्ल प्रचारप्रसार गर्न थालिएको छ ।”, कुँवरले भने, “अन्य सामान्य झरनालाई मिडियामा देखेपछि यहाँको झरनलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ लागिपरेका छौँ ।”

करिब २ सय मिटर अग्लो छहरा भीरमाहुरी रहने पहाडमा भएकाले यसको नामकरणसमेत माहुरी झरना गरिँदै आएको स्थानीयवासीले बताएका छन् । उक्त झरनाको प्रचारप्रसार गर्न थालिएपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । अहिले दैनिक करीब ५० आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने भएपनि झरनामा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा समस्या भएको छ । झरनामा पुग्नका लागि अझै २ सय मिटर पदमार्ग आवश्यक पर्ने हुन्छ ।माहुरी झरना काठेखोला गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । झरना हिउँदमा समेत नसुक्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका हिसाबले यहाँ पदमार्ग, रेलिङ, प्रतीक्षालय र तारबार निर्माण गर्ने लामिछानेले बताए ।

अहिले जनश्रमदानबाट माहुरी झरना सामुदायिक घरबास, मौवाघारी सामुदायिक वन, सगरमाथा युवा क्लब र महिला समूह मिलेर श्रमदानमा पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट उक्त झरना आधा घण्टाको दूरीमा पुग्न सकिन्छ । रासस/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार