मोरङमा दुई कोरोना संक्रमितको मृत्यु

मोरङ । मोरङ कारागारका एक बन्दीसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी नगरपालिका ४ घर भइ १० महिनादेखि लागूऔषध मुद्दामा मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कोरोना संक्रमित २७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मोरङ कारागारका प्रमुख सुभाष लामिछानेका अनुसार उनलाई बुधबार साँझ श्वास फेर्न गाह्रो र रक्तचाप कम भएको सूचना प्राप्त भएपछि कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको बुधबार राति साढे ८ बजे मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा। लक्ष्मीनारायण यादवले बताए । उनको मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको यादवले सुनाए ।

मोरङ कारागारमा चार दिनअघि कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गराइएका एक पुरुषको रिपोर्ट बुधबार पोजिटिभ आएपछि छुट्टै कोठामा आइसोलेट गरेर राखेको कारागार प्रमुख लामिछानेले बताए । उनले मृतक संक्रमितको कोठामा बस्ने सबै जनाको स्वाब परीक्षण गराउने तयारी गरेको बताए ।

यस्तै, उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोनासँग मिल्दो लक्षण देखिएपछि परिवारजनले वृद्धालाई उपचारका लागि विराट मेडिकल अस्पतालमा भर्ना गराएका थिए । अस्पतालले भर्ना गरी स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

अस्पतालले वृद्धाको स्वास्थ्यमा कुनै सुधार नआएपछि घरमै लगेर राख्न परिवाजनलाई दिएको सुझाव अनुसार दुई दिनअघि घरमै ल्याएर होम आइसोलेसनमा राखेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी मनबहादुर राईले बताए । उनका परिवारजन क्वारेन्टाइनमा बसेकाले नेपाली सेनाको टोलीले मृतकको शव व्यवस्थापनको कार्य गरेको राईले बताए ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार