बढ्दै स्क्रब टाइफस र डेंगुका बिरामी

चितवन । कोरोनाको संक्रमण तीव्र भइरहेको चितवनमा स्क्रब टाइफस र डेंगु रोगका बिरामीहरू पनि बढ्न थालेका छन् । यी रोगमा पनि कोरोना संक्रमित हुँदा जस्तै ज्वरो आउने लक्षण हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार साउनयता जिल्लामा स्क्रब टाइफसका १ सय ३९ जना बिरामी भेटिएका छन् भने ३१ जनामा डेंगु भएको पाइएको छ ।

‘बिरामीको संख्या हेर्दा चिन्ताजनक अवस्था त हैन तर सचेत र सजग हुनुपर्ने भएको छ,’ स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यले भनिन् । उनका अनुसार गत वर्ष चितवनमा स्क्रब टाइफसका १ सय ४० जना बिरामी भेटिएका थिए । यो रोग मुसामा हुने किर्ना वा भुसुनाले टोक्दा मान्छेलाई हुने गर्छ । पानी धेरै परेका कारण मुसाहरू बाहिर निस्कने र यो रोगको जोखिम बढ्ने हुन्छ । मुसाको भुसुनाले टोकेको ठाउँमा बिबिराहरू आउन थाल्छ । अनि ज्वरो आउने गर्छ । स्क्रब टाइफस भएमा तुरुन्त उपचार गरे निको हुन्छ । यो रोगको औषधि पनि छ ।

डेंगु रोग दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेंगुको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने आदि हुन् । नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमै डेंगु पत्ता लागेको थियो । त्यसपछि चितवनमा सन् २०१० मा यो रोगको महामारी चल्यो । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको विवरणअनुसार उक्त वर्ष मात्रै ७ सय ३९ जनामा डेंगु देखिएको थियो ।

उच्च ज्वरो आएका २३ जनाको मृत्यु भएकोमा ५ जनामा डेंगु पुष्टि भएको थियो । त्यसयता हरेक तीन–तीन वर्षमा चितवनमा डेंगुको प्रकोप फैलिएको छ । सन् २०१० पछि सन् २०१३, २०१६ र २०१९ मा चितवनमा डेंगुको प्रकोप फैलिएको थियो । आचार्यका अनुसार गत वर्ष चितवनमा ४ हजार ८ सय ४ जनालाई डेंगु भएको थियो । जसमध्ये २ जनाको मृत्युसमेत भएको थियो । डेंगु हुँदा समयमै ख्याल नराखे रगतमा प्लेटलेट्सको मात्रा घट्ने र अन्य भित्री अंगमा असर परेर मान्छेको निधन हुने गर्छ ।

दुई थोपा मात्रै जमेको सफा पानी छ भने त्यसमा डेंगु सार्ने एडिस लामखुट्टेले अण्डा ९फुल० पार्छ । त्यसैले थोरै–धेरै कतै पनि सफा पानी जम्न नदिनु नै डेंगुबाट जोगिने उत्तम उपाय भएको फिजिसियन तथा भरतपुर अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीले बताए । पानी जम्न नदिए लामखुट्टे जन्मन र फैलन नै सक्दैन । त्यसैले स्थानीय तह, वडा, टोल र प्रत्येक नागरिकले यो कुरा ख्याल राख्नुपर्ने उनले बताए ।

‘डेंगुको जोखिम मंसिरसम्म अत्यधिक रहन्छ । त्यसैले सजग हुनुपर्छ । अहिले केस देखिएका कारण नियन्त्रणमा लागौं,’ डा.अधिकारीले भने । अहिले कारोना संक्रमण तीव्र भएका कारण सबैको ध्यान विश्वव्यापी महामारी बनेको यही रोगमा केन्द्रित छ । यस्तो बेला स्थानीय रूपमा महामारी र संकट निम्त्याउन सक्ने डेंगुजस्ता रोगको नियन्त्रणमा पनि लाग्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य कार्यालयले भने स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई यसको जोखिमको सन्दर्भमा सजग गराएको जनाएको छ । कार्यालयकी भेक्टर कन्ट्रोल निरीक्षक आचार्यले भनिन्, ‘अस्पतालमा प्रयोगशालाका प्राविधिकहरूको छलफल राखेर स्क्रब टाइफस र डेंगुको अवस्थाबारे बुझ्यौं । कुन पालिकाको कुन वडामा समस्या छ भनेर हेर्दै पनि छौं । स्थानीय तहका स्वास्थ्य युनिटका प्रमुखहरूलाई समस्या निराकरणको योजना बनाउन भनेका छौं ।’ ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार