जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चोरी गरेको आरोपमा तीन जना प्रक्राउ

जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्तिमध्ये थप दुई वटा मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये विष्णु र भगवती सरस्वतीको मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले चन्दननाथ नगरपालिका १० बोहोरा गाउँका सुशिल विष्टको खेतको आलीमा दोसल्लामा बेरिएको अवस्थामा मूर्ति भेटिएका हुन् ।उहाँका अनुसार दुईवटा मूर्तिसँगै चोरीमा संलग्न रहेको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका १० का वर्ष ३२ का सुशिल विष्ट, तातोपानी गाउँपालिका ८ घर भएर चन्दननाथ नगरपालिका १० बस्ने २८ वर्षका जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै २३ वर्षका सुदीप रावल रहेका छन् ।

चार वर्ष पहिले चोरी भएका दर्जनौँ मूर्तिमध्ये अहिलेसम्म विभिन्न ठाउँमा गरी २० वटा मूर्ति भेटिएको हुनसक्ने प्रहरीले जनाएको छ । जम्मा कति मूर्ति चोरी भएका हुन र कति भेटिए भन्ने एकिन जानकारी भनेपछि गराउने प्रहरीको भनाइ छ । सोमबार मूर्ति सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमूल्य ऐतिहासिक मूर्ति चोरीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सकेसम्मको प्रयास भइरहेको बताउनुभयो । यसअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको समयमा चन्दननाथको मुख्य मूर्तिसमेत पत्ता लागिसकेको छ ।

२०७६ माघ ६ गते १८ किलोको चाँदीको मूर्ति प्रहरीले दानसाँघु नजिकैको खेतमा बेवारिसे अवस्थामा फालिएको भेटेपछि स्थानीयले बाजागाजासहित स्वागत गरी चन्दननाथ मन्दिरमा पुनर्स्थापन गरिएको थियो ।ujyaaloonlineबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार