प्रदेश १ मा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु

मोरङ । प्रदेश १ मा मंगलबार बिहान मात्रै कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कजेलमा दुई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको हो।मोरङको कानेपाखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ३ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ।

‘पुरुषलाई ज्वरोको समस्या भएपछि उपचारका लागि सोमबार दिउँसो अस्पताल भर्ना गरिएको थियो,’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, ‘अस्पताल भर्नापछि गरेको स्वाब पिसिआर परीक्षणको रिपोर्ट सोमबारै साँझमा पोजेटिभ आएपछि आइसोलेसनमा राखेर उपचार थालेका थियौं। उनको उपचारका क्रममा मंगलबार बिहान ३ बजेतिर मृत्यु भयो।’ मृतक पुरुष पाँच वर्षदेखि ब्लड क्यान्सरको बिरामी रहेका थिए।

त्यसैगरी, मोरङकै रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युुभएको अस्पतालले जनाएको छ। छ दिनअघि कोरोना पुष्टि भएका पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर उपचारका क्रममा मृत्युु भएको हो,’ प्रबन्ध दाहालले भने, ‘असोज १३ गते अस्पताल ल्याइएका पुरुषको पिसिआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालेका थियौं।’ कोरोना पुष्टिपछि उनलाई आइसोलेसनको आइसियुमा राखेर उपचार गरिएको थियो।

‘मधुमेहको पुरानै समस्या रहेका पुरुषमा ज्वरो, निमोनिया र टाइफाइटको समस्या थपिएको थियो,’ प्रबन्धक दाहालले भने, ‘नोबेलको आइसोलेसनमा ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।’त्यस्तै सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको मंगलबार बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए।यससँगै प्रदेश १ मा हालसम्म २३ महिला र ६१ पुरुष गरी ८४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार