अढाई महिनामा ११२ फर्म कारबाहीमा

काठमाडौँ ।साउनयता उपभोक्ता ठगी गर्ने कुल ११२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा बजार अनुगमन गरेर साढे दुई महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ११२ फर्मलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि असोज १४ गतेसम्म उपत्यकामा रहेका ५०२ व्यावसायिक फर्ममा अनुगमन गरेकोमा कैफियत भेटिएका ११२ वटा फर्मलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

यसअवधिमा विभागले उपभोक्ता ठगी गर्ने व्यसायीलाई कारबाही गरेर ७३ लाख ५७ हजार रुपैयाँ जरिवाना संकलन गरेको जानकारी दिएको छ । विभागले व्यावसायिक फर्मलाई कसुरअनुसार पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म गरिवाना गरेको जनाएको छ । उपभोक्ता संरक्षण ऐनअनुसार बजार अनुगमनका क्रममा कैफियत भेटिए निरीक्षण अधिकृतले तत्काल पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको छ । सोहीअनुसार अनुगमनका क्रममा उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले नियमति रूपमा बजार अनुगमन गरिरहेको जानकारी दिए । उनले भने, “अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको फेला परे तत्काल कारबाही गर्छांै ।” चाडपर्वको बेलामा चहलपहल बढी हुने हुँदा बजार अनुगमनको कामलाई तिव्रता पारिएको उनले जानकारी दिए । सो अवधिमा १९ वटा व्यावसायिक फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको छ । यस्तै, म्याद नाघेका सामानसमेत नष्ट गराई २५९ वटा पसललाई सुधार गर्न निर्देशन दिएको विभागले जानकारी दिएको छ ।

म्याद नाघेका सामान बिक्री गरेको, बढी मूल्य लिएको, कालोबजारी गरेको मिसावट, व्यवसाय दर्ता नगरेको लगायतका कसुरमा विभागले कारबाही गरेको हो । उपभोक्ता ठगरेको कसूरमा अनलाइन कारोबार, औषधि पसल, कपडा पसल, खाद्यान्न किराना पसल ,मासुपसल चस्मा पसल, खाद्य उद्योग, तरकारी पसल, पानी उद्योग, सर्जिकल, सैलुन, मार्ट, पार्टी प्यालेस, मास्क उत्पादन, रेष्टुरेन्ट, सुपरमार्केट, अनलाइन सपिङलगायतका व्यावसायिक फर्मलाई विभागले कारबाही गरेको छ ।
विभागले नियमित रूपमा अनुगमन गरेको बताए पनि बजारमा कलोबजारी, मूल्यवृद्धि, मिसावट, म्याद नाघेका सामान, लेबल नाघेका सामान बिक्री बढी भइरहेको छ । म्याद नाघेका सामान पुनः लेबलिङ गरेर बजारमा पठाउनेको गरेको फेलापरेपछि विभागले कारबाही समेत गरिसकेको छ ।
उपभोक्ता अधिकारकर्मी भने विभागले प्रभावकारी ढंगले बजार अनुगमन नगर्दा व्यवसायीले अधिकांश सामानमा मनपरी मूल्य बढाएर उपभोक्ता ठग्ने गरेको बताउँछन् । कृत्रिम अभाव गराएर मूल्य बढाउने बजारमा म्याद नाघेका, लेबल नभएको सामान बिक्री बढी हुने गरेको उनीहरूको भनाइ छ । कोरोना भाइरसको मारमा परेको उपभोक्तालाई अधिकांश वस्तुमा भएको मूल्यवृद्धिले प्रत्यक्ष असर परेको छ ।

कोरोना भाइरस नियन्त्रण गरिएको निषेधाज्ञाको बेला कृत्रिम अभाव गराएर व्यवसायीले तरकारी, खाद्यान्न लगायतका अन्य दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिइरहेको उपभोक्ताको गुनासो छ । विभागले साउनमा १८६ व्यावसायिक फर्ममा अनुगमन गरेर ६४ फर्मलाई जरिवाना गरेको थियो । यस्तै भदौमा १७४ व्यावसायिक फर्ममा अनुगमन गरी १३ वटालाई जरिवाना गरेको छ । असोज १४ सम्म १४२ वटा फर्मलाई अनुगमन गरी १७ वटालाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । karobardailyबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार