साझा पार्टीका दुई केन्द्रीय सदस्य पौडेल र अर्यालले छाडे पार्टी

काठमाडौं । साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले पार्टी छाडेका छन्। केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टीबाट अलग भएका हुन्। पार्टी स्थापनादेखि नै सक्रिय रहेकी पौडेल बिहीबारदेखि पार्टीबाट अलग भएकी हुन्। उनले केही समयअघि पार्टीलाई साधारण सदस्य र केन्द्रीय सदस्य नरहने जानकारी गराएकी थिइन्। केन्द्रीय समिति पुनर्गठनका दिन उनी अलगिएकी हुन्। साझाले बिहीबार ३७ केन्द्रीय सदस्य थपेको थियो। उनले पार्टीमा आफ्नो कुनै असन्तुष्टि नरहेको दाबी गरिन्।

‘पार्टी छाड्नुमा त्यस्तो केही कारण छैन। पार्टीमा नयाँ सदस्य थपिँदै हुनुहुन्छ। पार्टी राम्रो बन्दै छ। नयाँ साथीहरूलाई पनि अवसर दिनुपर्‍यो नि!,’ उनले भनिन्, ‘बाहिरै बसेर पार्टीलाई सहयोग गर्छु। आफ्नो करिअरमा पनि केन्द्रीत हुनुपर्नेछ।’

साझाका अर्का केन्द्रीय सदस्य अर्यालले आफूले थोरै समय पार्टीमा केन्द्रीय सदस्यका रूपमा काम गरेको उल्लेख गरेका छन्। साझाको पुनर्गठित केन्द्रिय समितिलाई मेरो हृदयदेखी शुभकामना छ! तपाईंहरुसँग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रिय सदस्यका रुपमा थोरै समय काम गर्दा संगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘परिस्थितिवश भौगोलिक रूपमा हालसँगै नरहे पनि तथा केन्द्रिय सदस्य नरहे पनि संगठीत विकल्पका लागि मबाट हुन सक्ने सहयोग गरि नै रहनेछु।’अर्याल विदेशमा छन्।

साझाका सहप्रवक्ता शरदराज पाठकले केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले व्यक्तिगत र अरू विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन र अहिले समय दिन नसक्ने जानकारी गराएको बताए। ‘पुनर्गठनका मौका पारेर उहाँहरू दुई जना बाहिरिनुभएको हो। उहाँहरूले पार्टीमा निरन्तर सहयोग गर्ने भनिरहनुभएको छ। व्यक्तिगत र विविध कारणले गर्दा केन्द्रीय समितिबाट बाहिरिने निर्णय गर्नुभएको हो,’ उनले भने।

साझाका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले गत असारमा पार्टी छाडेका थिए। उनीहरू दुवैले संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय टिमसँग मतभिन्नता राख्दै आएका थिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार