प्रदेश १ मा ५ जना संक्रमितको मृत्यु

मोरङ । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ५ जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ पुरुष, विराटनगरकै कोसी अस्पताल आइसोलसनमा १ पुरुष र धरानस्थित बिपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा २ पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

प्रदेश १ मा कोरोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना भाइरस संक्रमित दुई जना पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ।

रंगेली–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। ‘बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएर ल्याइएका वृद्धलाई तत्काल आइसियूमा भर्ना गरेर उपचार थालेका थियौं,’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, ‘आइसियूमा उपचार थाल्दै स्वाब पिसिआर परीक्षणका लागि दियौं र नोबेलकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएसँगै थप उपचारका लागि आइसोलेसनमा भर्ना गरेका थियौं।’ मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ।

त्यस्तै नोबेल अस्पताललमा उपचाररत सुनसरीको धरान–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको हो। असोज १७ गते अस्पतालमा भर्ना गर्दा पुरुषलाई श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेको प्रबन्धक दाहालले जानकारी दिए। अस्पताल भर्नासँगै गरिएको स्वाब पिसिआर परीक्षणको रिपोर्ट राति पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

त्यसैगरी, इटहरी–४ घर भई मोरङ कारागारमा कैदीबन्दी रहेका २० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण शुक्रबार बिहान १०ः १५ बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ। लागुऔषध मुद्दामा २०७६ माघ २१ गते पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो। फैसला नहुँदै र मुद्दा विचाराधीन रहेकै अवस्थामा कोरोनाको संक्रमणबाट उनको मृत्यु भएको कारागारले जनाएको छ।

‘उसको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बिहीबार बिहान ७ बजेतिर कोसी अस्पताल लगेका थियौं,’ जेलर सुवास लामिछानेले भने, ‘कोरोनासँग मिल्ने लक्षण देखिएकाले आइसोलेसनमा राखेर उपचार थाल्दै स्वाबको पिसिआर परीक्षण गराउँदा राति रिपोर्ट पोजेटिभ आयो। त्यसपछि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप उपचारका लागि पठाउन खोज्दा केन्द्रले बेड खाली नभएको बताएपछि अस्पतालकै आइसोलेसनमा राखेर उपचार गर्‍यौं।’

कोसी अस्पतालको आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनलाई श्वासप्रश्वासमा धेरै समस्या रहेको थियो। आइसोलेसनमा कोरोनाको शंकास्पद बिरामीलाई प्रारम्भिक उपचारका लागि राखेर पिसिआर रिपोर्ट पोजेटिभ आए थप उपचारका लागि रेफर गर्ने गरिएको डाक्टर यादवले बताए।

त्यसैगरी, धरानस्थित बिपी प्रतिष्ठानमा सुनसरीको इटहरी–६ का ६८ वर्षीय पुरुषको शुक्रबार बिहान साढे १२ र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। यसैसँगै प्रदेश १ मा कोरोना भाइरसबाट २३ महिला र ७१ पुरुष गरी ९४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार