ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

तुलसीपुर । ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पा जिल्लावाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । २०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहँदै आएका थिए ।

फरार प्रतिवादीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिएका छन् । फरार प्रतिवादी केसीले सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

रोल्पावाट दाङ ल्याएर प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेशअनुसार तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार