पालुङटारले तयार पार्‍यो २० बेडको आइसोलेसन

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको छ । वडा नम्वर(४ मालतीगैरामा रहेको सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन वार्ड तयार गरिएको हो ।

विद्यालय सञ्चालनका लागि अर्को भवन निर्माण भइरहेका कारण उक्त भवनमा आइसोलेसन वार्ड बनाइएको नगरपालिकाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले बताए । ‘अहिले नगरपालिकाका सबै विद्यालयहरु बन्द छन्, मंसिर ६ गतेबाट मात्र खुल्छन्,’ उनले भने, ‘त्यो बेलासम्म वैकल्पिक भवन बनिसक्छ ।’
आइसोलेसन सञ्चालनका लागि आवश्यक पूर्वाधारहरु तयार भइसकेको उनले बताए । ‘वायरिङ गरेर सीसीटिभी जडान गरिसक्यौं, बेडहरु पनि तयार भइसकेका छन्,’ गिरीले भने, ‘विजुली, खानेपानी लगायतको व्यवस्था पनि भइसकेको छ, संक्रमित आएमा आजैबाट उपचार थाल्छौं ।’

संक्रमितको उपचारका लागि एकजना डाक्टर, एकजना अनमी र एकजना अहेव परिचालन हुने उनले बताए । यसअघि आइसोलेसनको व्यवस्था नहुदाँ यस क्षेत्रका संक्रमितलाई गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउनुपर्ने बाध्यता थियो । पालुङटारमा अहिलेसम्म कुल ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये १३ जना संक्रिय संक्रमित छन् । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार