तिलोत्तमा नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने

बुटवल । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) निस्शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ ।कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नगरवासीको कोरोना जाँच ९पीसीआर परीक्षण० र मृतको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको हो ।

यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो भने पीसीआर सरकारले गर्दै आएको थियो ।शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ । तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जना निको भइसकेका र ३ सय २५ जना सक्रिय संक्रमित छन् ।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरवासीको पहिलो पटकको परीक्षणसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो । संघीय सरकारले सबैको पीसीआर परीक्षणसमेत निःशुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी समेत आफैंले लिने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘संघीय सरकारको निर्णय नागरिकप्रतिको दायित्वबाट पन्छिने खालको भयो, हामी त्यसरी गैर जिम्मेवार बन्न सक्दैनौं भन्ने नगर प्रमुखको निर्देशन अनुसार यस्तो निर्णय गरेका हौं’- प्रवक्ता श्रीले भने ।

तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरे समेत कोरोना संक्रमित भई २० दिनदेखि आइसोलेसनमा छन् । यस्तै नगरपालिकाले शंकरनगर आइसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णयसमेत गरेको छ । कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेसनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पुर्‍याउने निर्णय गरेको हो । हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले जानकारी दिइन् ।

हाल तिलोत्तमाको आइशोलेसनमा अन्य पालिकाबाट जाँच भई आएका २२ जना संक्रमित रहेका छन् । बैठकले संक्रमितहरुलाई घर(घरमा आयुर्वेदिक जडिबुटी पुर्‍याउने कार्यक्रमलाई निरन्तर दिने निर्णय समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले कोरोना महामारी शुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैंयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए । बैठकले दशैं-तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सुरक्षित तवरले घरमा बस्न र समाजमा घुलमिल नहुन आग्रह गरेको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार